काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् ।
वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ ।
अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो चलचित्र हेर्न सक्नेछन् । जस अन्तर्रगत २ सय भन्दा बढी देशका दर्शकले यो सिनेमा हेर्न पाउने भएका छन् ।
चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहुभाषी दर्शकको पहुँचमा पुर्याएको छ ।निर्माण पक्षका अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली चलचित्र हो । यसअघि केही नेपाली चलचित्रहरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्म मा रिलिज भएको हो ।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए ।