विराटनगर । नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा भारतको गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिनका लागि गरिएको हो ।
किन ईन्डिया दिल्ली समेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । किन ईन्डिया दिल्लीका निर्देशक नवीन जोशीका अनुसार भारतमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूलाई नियम, कानुन थाहा नहुनुका कारण विभिन्न समस्यामा पर्नुपरेको छ । उनीहरूलाई सचेत गराउने उद्देश्यले गोवामा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा करिब २ सय नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो। साथै भारतका कानुन व्यवसायीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूले भोगिरहेका समस्याहरू, कानुनी उपायहरू, र समस्यामा परेमा कुन निकायबाट सहयोग लिन सकिन्छ भन्नेबारे व्यापक छलफल गरिएको थियो । हालका दिनमा भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूले विविध समस्या भोग्नुपरेको पृष्ठभूमिमा, यस्तो सचेतनामूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।