इन्दु कुमारी साह
विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्।
चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्ना पौडेल नाम गरेकी एक युवतीसँग परिचित भए । कुराकानीको क्रममा आलम अनलाइनबाट आम्दानीको उपाय खोजिरहेको थाहा पाएपछि युवतीले साइड इनकम गर्ने राम्रो अवसर भएको भन्दै प्रलोभन देखाइन् । विस्नाले ग्लोबल मार्केट प्लेटफर्मको लिङ्क पठाउँदै सुरुवाती चरणमा ११ हजार रुपैयाँ रिचार्ज गरे ३० मिनेटमै नाफासहित रकम फिर्ता हुने दाबी गरिन् । उनले पठाएको एनएमबी बैंकको खाता भने मिना दर्जी नामकी महिलाको थियो ।
सुरुमा केही नाफा पाएपछि आलमले क्रमश १० देखि ३० हजारसम्म थप रकम पठाउँदै गए । तर पछि १ लाख रुपैयाँ रिचार्ज गरे मात्र पहिलेको रकम र नाफा फिर्ता हुने भनिएपछि आलमले शंका गर्न थाले । उनले रकम फिर्ता माग्दा युवती फेरी एकलाख नदिए रकम ननिस्कने बताईन् । तर आलमले आफु ठगीमा परेको थाहा पाए । यो क्रममा उनले पटक–पटक गरी ४२ हजार रुपैयाँ गुमाएका थिए । सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका आलमका लागि यो ठूलो रकम थियो।
उनले साउन ११ गते जिल्ला प्रहरी कार्यालय मोरङमा खातावाला मिना दर्जीको नाममा अनलाइन ठगीको जाहेरी दिएका छन्। हालै छोटो समयमा धेरै पैसा कमाउने प्रलोभनमा परी ठगीमा पर्ने घटना बढिरहेका छन् । प्रहरीले अनलाइनमा अपरिचित व्यक्ति वा संस्थाको प्रलोभनमा नपर्न र सावधानी अपनाउन नागरिकलाई आग्रह समेत गरीरहेको छ ।