विराटनगर । ‘सफलता रातारात मिल्दैन, यसका लागि निरन्तरको संघर्ष चाहिन्छ।’ यो भनाइलाई चरितार्थ गरेका छन् मोरङको कटहरी गाउँपालिका–३ का नुर आलम र उनकी श्रीमती खुश्बु खातुनले । कुनै समय जीविका चलाउनका लागि अनेकौं संघर्ष गरेका यो जोडीले कटहरी चोकमा तीनवटा सफल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
नुर आलमको यात्रा सहज थिएन । सुरुमा मदरसामा पढाउने उनले अतिरिक्त आम्दानीका लागि कुखुरा फार्म खोले, तर रोगले सताएपछि त्यो व्यवसाय बन्द गर्नुपर्यो । परिवार पाल्न कठिन भएपछि उनी सन् २०१२ मा विदेशिए । तर, त्यहाँ पनि मन अडिएन र एक महिनामै घर फर्किए । पटकपटकको असफलताले पनि नुर आलमलाई हरेस खुवाएन । विक्रम सम्वत २०६७ सालमा उनले एउटा सानो खाटलाई पसलको रूप दिएर सडकको छेउमा जाडोका कपडाहरू—पन्जा, मोजा र टोपी—बेच्न सुरु गरे । त्यही सानो लगानी र अदम्य साहसले आज उनको जीवनको बाटो नै बदलिदिएको छ । हिजोआज उनी कटहरी चोकमा तीनवटा व्यवसाय सञ्चालन गर्छन् । जसमा ‘मदिना फेन्सी स्टोर’ नामक कपडा पसल, ‘युनिक क्याफे एण्ड बिरयानी हाउस’ र श्रीमती खुश्बुले सञ्चालन गर्ने ब्युटी पार्लर तथा कस्मेटिक पसल छन् ।
खुश्बुका अनुसार, करिब एक लाखको लगानीबाट सुरु भएको उनीहरूको व्यवसाय अहिले ४५ लाख रुपैयाँ हाराहारीको भएको छ । उनीहरूले आफ्नो व्यवसायमार्फत स्थानीय ५ जनालाई रोजगारीसमेत दिएका छन् । यो दम्पतीको उद्यम यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ठूलो सहयोग गरेको छ। ‘१० वर्षदेखि यो जीवन विकासमा आबद्ध छु,’ उनी भन्छिन्,‘सुरुमा २० हजार ऋण लिएर व्यवसाय बढाएँ र बिस्तारै ऋण थप्दै आज यहाँसम्म आइपुगेकी हुँ ।’ नुर आलम भन्छन्,‘हामी जस्ता व्यापारीका लागि जीवन विकासको सहयोग निकै महत्त्वपूर्ण छ ।’ विदेश मोह त्यागेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका नुर र खुश्बुको जोडीले व्यवसायबाटै कमाएको पैसाले जग्गा जोडेका छन् । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिइरहेका छन् ।
जोडीको कथा हेर्न यहाँ किल्क गर्नुहोस :
https://www.youtube.com/watch?v=gK6IBFI27DA&t=4s