विराटनगर । दुई वर्ष अघि नेपाल–भारतका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन गरे । त्यहि दिन दुई देशबीच पारवहन सन्धि नवीकरण गर्दा चारवटा वस्तु मात्रै कार्गो रेलमार्फत ढुवानी गर्ने कुरा उल्लेख भयो । नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइला र मलखाद ल्याउने सुविधासहित २०८० जेठ १८ गते पहिलो कार्गो रेल विराटनगर–१८ स्थित आईसिपी नजिकको नेपाल कष्टम यार्ड आयो । तर, त्यसपछि कार्गो रेलमार्फत ढुवानी सुविधा पाएका वस्तु नेपाल कष्टमसम्म उद्योगीले मगाएनन् ।
उद्योगीहरुले सबै प्रकारका मालवस्तु ढुवानी गर्न पाउनुपर्ने गरी नेपाल भारत पारवहन सन्धि संशोधन हुनुपर्ने माग गर्न थाले । यो माग पनि उनीहरुले अहिले पुरा भयो । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधनमा दुवै देशका वाणिज्य मन्त्रीहरुले हस्ताक्षर गरेर लागु भइसकेको छ । अब भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक रहेको रेलवेको नेपाल कष्टम यार्डसम्म कार्गो रेलबाट सबै प्रकारका औद्योगिक कच्चा र व्यापारी मालवस्तु समेत ल्याउने बाटो खुलेको छ ।
कार्गो रेलबाट भारतसहित तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारीक सामान ढुवानी गर्दा ३५ देखि ४० प्रतिशतसम्म ढुवानी लागत कम हुन्छ । त्यस बाहेक विभिन्न कारणले हराउने, चोर्ने, नष्ट हुने जस्ता समस्या हुँदैन । यसैगरी समयमा आइपुग्छ । मालवस्तु कार्गोरेलमा ढुवानी गर्नका लागि बाटो खुलेको छ । तर, पनि विराटनगरका उद्योगी यसलाई प्रयोग गर्न ईच्छा देखाइरहेका छैनन् । कारण हो, आईसिपी सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपालले कार्गोरेलमार्फत आएको सामान अनलोड र हेण्डलिङमा तोकेको शुल्क । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार नेपालतर्फको यार्डमा अनलोड र हेण्डलिङ्ग चार्ज नै बढी छ । अर्कोतर्फ सबै प्रकारका मालवस्तु अनलोड गर्ने क्षमता पनि नभएको उद्योगीहरुको बुझाई छ । विराटनगर कस्टम यार्डमा अनलोड र ह्याण्डलिङ चार्ज नघटाउने हो भने उद्योगीहरुले कुनैपनि मालवस्तु ल्याउने संभावना देखिदैन ।
जस्तोको आईसिपीसँग नजिक रहेको आईसीवाई (भारतीय भन्सार चेक पोष्ट) बाट स्पन्ज आइरन आयात गर्दा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किलोमिटरसम्मको ढुवानी दर प्रतिटन ६६४ रुपैयाँ पर्छ । त्यस्तै आईसीवाईमा पार्किङ शुल्क छुट्टै ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन आईसीवाईमार्फत कारखानासम्म ल्याउँदा कुल ६९६ रुपैयाँ पर्न जान्छ । तर, यही स्पन्ज आइरन विराटनगरको आईसीपीस्थित एनसीवाईबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ चार्ज ४ सय रुपैयाँ पर्छ । यस्तै २५ किलोमिटरसम्मको ढुवानी खर्च प्रतिटन ३६० रुपैयाँ गरी ७६० रुपिँया तोकिएको छ । आईसीवाईबाट स्पन्ज आइरन ल्याउँदा प्रतिटन ६९६ र एनसीवाईबाट ल्याउँदा ७६० रुपैयाँको दरले प्रतिटनमा ६४ रुपैयाँ फरक पर्ने देखिन्छ । त्यसैले उद्योगीहरुले एनसीवाई (नेपालको भन्सार) भन्दा आईसीवाईमा नै सामान अनलोड गर्न चाहेका छन् ।
पशुपती खाद्य तेलका सञ्चालक एवं उद्योगी अमित शारडाले ¥याकमा आउने मालवस्तु अनलोड गर्दा हुने आउने शुल्ककै कारण एनआईसी भन्दा आईसीवाई बढी किफायती देखिने बताए । जस्तै एक ¥याकमा कम्तिमा २५ सय टन स्पन्ज आइरन आउँछ । एनसीवाईको तुलनामा आईसीवाईबाट स्पन्ज ल्याउँदा २५ सय टनको ढुवानी खर्च मात्र १ लाख ६० हजार कम पर्न जान्छ ।
उद्योगी राठी र शारडाको एकै स्वर के छ भने, सरकारले एनसीवाईमार्फत असुल गर्ने महँगो शुल्कबारे पुनर्विचार नगरेसम्म उक्त प्लेटफर्मको उपभोग स्वदेशी उद्योगी र व्यवसायीले गर्न सक्दैनन् ।
उद्योगीका अनुसार स्पन्ज बाहेक पनि जीआई वायर, गेभिएर बक्सलगायतका सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर–रड आईसीवाईमार्फत १६८ रुपिँया प्रतिटन सस्तो पर्दछ । त्यसैले ५०० मिटर दुरीको अन्तरमा रहेको आईसीवाई र एनसीवाईमध्ये उद्योगी भारतको आईसिपीमै मालवस्तु अनलोड गर्न रुचाउने गरेका छन् । पारवहन सन्धि संशोधनले कार्गोरेलका लागि बाटो त खोलिदिएको छ तर अनलोड तथा हेण्डलिङ्ग चार्जको शुल्कले भने कार्गोरेल विराटनगर–१८ स्थित नेपाल कष्टम यार्डसम्म ल्याउन चाँहि उद्योगी सहमत देखिएका छैनन् । पारवहन सन्धिपछि अहिले भारतको एकिकृत भन्सारसम्म नेपाली उद्योगी–व्यवसायीले सामान ल्याउन थप तयारी गरिरहेका छन् ।
प्रोटोकल संशोधनमार्फत कन्टेनर कार्गोसहित सबै प्रकारका सामान रेलमार्गबाट ल्याउन सकिने व्यवस्था भएपनि नेपालतर्फको वातावरण सुधार गर्नुपर्ने अन्य कतिपय उद्योगीको सुझाव छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन शारडाले नेपाली उद्योगीले नेपालको भूमिसम्मै कार्गोरेलमा सामान ल्याउने वातावरण बनाउनुपर्ने माग गरेका छन् । उनले रेल्वेको काम पनि नसकिएको र आईसिपीको काम हेर्दै आएको ट्रान्स नेपाल तोकेको शुल्क पनि बढी भएको उनले गुनासो गरेका छन् ।
यस्तो हुन्छ भाडादर अन्तर
कार्गो रेलबाट सामान ढुवानी गर्दा खुला सीमाना कारण हुने गरेको मालवस्तुको चोरी–पैठारी र कन्टेनरबाट आयात गर्दा हुने लिकेज र ड्यामेरेज पनि हट्नेछ ।
कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३–४ भारु भाडा बुझाएर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ गर्नुपर्ने अवस्थाको अन्त्य पनि हुन्छ । कोलकातादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा प्रतिकिलो १ रुपिँया ९५ पैसा मात्रै पर्दछ । यदि यहि सामान ट्रक र कन्टेनरमा ल्याउँदा ३ देखि ४ रुपिँया पर्दथ्यो । त्यसैले वस्तु हेरेर ३५ देखि ५० प्रतिशतसम्म ढुवानी खर्च कम हुन जान्छ ।