विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थितबाट लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा छोरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले होटल सञ्चालन गर्ने बहानामा गाँजाको कारोबार गर्दै आएका आमा–छोरा र अर्का एकजनालाई पक्राउ गरेको हो ।
भारतीय नागरिक कबिता यादवले संचालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागू औषध गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । त्यसका क्रममा उनका छोरा मुन्ना कुमार यादव र अर्का साझेदार मोरङको जहदा–१ का मंजित कुमार यादव समेत संलग्न आरोपमा पक्राउ परेका छन् । उनीहरुले गाँजालाई सानो इकाईका पोका बनाएर बिक्री गर्ने गरेको खुलेको छ । चिया–नास्ता पसलमा ग्राहक बनेर आएकाहरु फर्कदा पोका बोकेर जान्छन् । त्यसो गर्दा प्रहरीलाई छल्न सहज हुने अनुमान उनीहरुले गरेको हुनसक्छ ।
विराटनगर र आसपास गाँजाको खेती छैन । तर, गाँजा खानेहरुको लागि अभाव पनि छैन । गाँजा नै नफल्ने शहरमा अड्डा भने जताततै छन् । विराटनगरका एक सेवनकर्ताका अनुसार यहाँ गाँजा बोरामा भित्र्याएर पोकामा र खिल्लीमा बिक्री हुन्छ । यतिसम्म भईसकेको छ, झुपडीबाट पक्की सटरका पसलमा पनि गाँजा बिक्री हुन्छ । सीमा नजिकका रेष्टुरेन्टमा गाँजा चल्न थालेको छ । कतिपयले वारीपारी आउजाउका क्रममा समेत कतिपय बोरा गाडीमा नाका कट्छ ।
‘जहदाको भुटाहाबाट भातिगछ हुँदै विराटनगरमा गाँजा भित्रने गरेको एकजना जानकारले यस अगाडी सूचना दिएका थिए । रातको समयमा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा गाँजा ओसारपसार हुन्छ’ ती युवाले भने–एक केजी गाँजा मात्रै ल्याउन सक्दा चार हजार नाफा हुन्छ । भातिगछ, जयरामपुर (बबनटोली), बिश्वकर्मा चौक पूर्व बलवाहीका अड्डामा गाँजा भित्रन्छ । बोरामा आएको गाँजा केजीमा वितरण गर्ने समूह छुट्टै छ । खपत हुने दोकानसम्म कारोबार गर्ने आफैले पु¥याउने गर्दै आएको ती जानकारले बताएका छन् । अड्डामा पुगेको गाँजा कागजको पोकामा वा चुरोटको खिल्लीमा पनि बिक्री हुन्छ । त्यसका लागि अड्डामा बस्नेले नै चुरोटमा भरिसकेका हुन्छन् ।
यसैगरी विराटनगर–१५ को सुडी बस्तीमा गाँजाको अर्को अड्डा जम्छ । ‘सुडी बस्तीका घरैपिच्छे गाँजा बिक्छ, त्यहाँका प्रमुख भनेका नदी भन्दा ठूलो जे हुन्छ त्यहि हो’ ती युवाले भने–प्रहरीले थाहा पाउँछ तर खिल्ली खोसेर विवाद हुनुभन्दा बोरा पक्रने दाउमा रमिते बन्छ । उनका अनुसार अहिले रेलवेको ट्रयाकलाई कभर बनाएर कतिपयले गाँजा भारत कटाउँछन् । पैसा धेरै हुने भएकोले फुर्सदमा भएका युवाहरु परिचालित छन् ।
यसैगरी विराटनगर–१२ को शुक्रबारेमा गाँजा अड्डा चल्ने गरेको ती युवाको भनाई छ । त्यसपछि दिल्ली पब्लिक नजिकै रहेको एउटा घुम्तीमा चल्छ । एकजना जानकारका अनुसार दिल्ली पब्लिक नजिकको गाँजा किन्नका लागि विराटनगरका ठुला घरेहरु पनि पुग्छन् । कामको वहानामा त्यहाँ पुगेर झटपट पोका गोजीमा राखेर फर्कन्छन् । घुम्तीमा गाँजा बेच्दाबेच्दै उनी पक्की घरको सटरमा सरिसकेका छन् ।