बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

<span class='c1'>बिरामी सुरक्षामा केन्द्रित दुई दिने</span> <span class='c2'>राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न</span>

बिरामी सुरक्षालाई केन्द्रविन्दुमा राखेर 'निरामय' द्वारा आयोजित दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्थान तथा स्वास्थ्य क्षेत्रसँग आबद्ध विज्ञ, प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागितामा सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनका प्रमुख अतिथि तथा प्रमुख वक्ताका रूपमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको उपस्थिति रहेको थियो। उहाँले करिब एक घण्टा लामो पावरपोइन्ट प्रस्तुति मार्फत औषधि सुरक्षाका विविध पक्षहरू प्रस्तुत गर्दै नागरिक सचेतना, नीति कार्यान्वयन र सबै सरोकारवालाको सहकार्यबाट मात्र बिरामीलाई सुरक्षित राख्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता प्राध्यापक ममता शर्मा न्यौपानेले गर्नुभएको थियो भने सम्मेलनका संयोजक उपप्राध्यापक डा. दीर्घराज जोशीका अनुसार देशभरका विभिन्न विश्वविद्यालय तथा कलेजबाट प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मी गरी १६७ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

सम्मेलनमा चारवटा प्राविधिक सत्र, एउटा प्यानल छलफल, चारवटा अतिरिक्त मौखिक प्रस्तुति तथा २२ वटा पोस्टर प्रस्तुति प्रस्तुत गरिएका थिए। उत्कृष्ट मौखिक तथा पोस्टर प्रस्तुति प्रस्तुत गर्ने सहभागीहरूलाई सम्मान समेत प्रदान गरिएको थियो।

स्वास्थ्य क्षेत्रमा तीनदेखि चार दशकसम्म योगदान पुर्‍याएका वरिष्ठ वैज्ञानिक, चिकित्सक, नर्स तथा प्राध्यापकहरूको उल्लेखनीय प्रस्तुति सम्मेलनको विशेष आकर्षण बनेको थियो। डा. कालु शर्मा सुवेदी, डा. शीतल अधिकारी, प्राध्यापक ममता शर्मा न्यौपाने, प्राध्यापक डा. कल्पना पौडेल, सहप्राध्यापक डा. विष्णु बिष्ट, प्राध्यापक डा. मुनिराज क्षेत्रीलगायत आ–आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रस्तुतिहरू दिनुभएको थियो।

सम्मेलनको मूल उद्देश्य सामाजिक चेतना अभिवृद्धि गर्दै करुणा, दया, प्रेम, नैतिकता र इमान्दारितालाई स्वास्थ्य सेवाको आधार बनाउनु रहेको आयोजकले बताएका छन्।

सम्मेलनको दोस्रो दिन पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा दीप प्रज्वलन गरी पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई स्मरण गर्दै, सम्मेलनले पनि सबै स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्दै सहकार्यका माध्यमबाट बिरामी सुरक्षाको साझा लक्ष्यतर्फ अग्रसर हुने सन्देश दिएको थियो।

“मेरो देश, मेरो जिम्मेवारी — नेपाल प्रथम” भन्ने राष्ट्रिय भावनाका साथ काम गरेमा नागरिक सुरक्षामार्फत स्वस्थ समाज निर्माण भई देश रूपान्तरण सम्भव हुने निष्कर्ष सम्मेलनले निकालेको छ।

यसै सम्मेलनको अवसरमा ‘निरामय’ नामक राष्ट्रिय टोली गठन गरिएको छ, जसको संयोजकका रूपमा प्राध्यापन क्षेत्रमा सक्रिय निशा अधिकारी चयन हुनुभएको छ। साथै, आगामी एक वर्षभित्र वीरगञ्जमा नर्सिङ विद्यार्थीहरूलाई लक्षित अर्को राष्ट्रिय कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्