काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ।
उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको यही सतर्कता र तत्परताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ । उनले देखाएका साहसिक योगदानको सम्मानस्वरूप आज भद्रपुरमा आयोजित कार्यक्रममा रु. १ लाख नगद पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको हो। आयोजक संस्थाले संकटको क्षणमा तामाङले देखाएका नेतृत्व, धैर्य र मानवताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै उनको कार्यले सबैका लागि प्रेरणादायी भएको जनाएको छ ।
सामान्य यात्रु भएर पनि असामान्य साहस देखाउन सकिन्छ भन्ने उदाहरण बनेका उमेश मोक्तान तामाङ आज केवल सम्मानित व्यक्ति मात्र होइनन्, संकटमा मानवताको उज्यालो बनेका पात्रका रूपमा स्मरणीय बनेका छन्।