विराटनगर । माघे संक्रान्ति भोलि भए पनि विराटनगरमा तरुलसहित कन्दमूलको कारोबार अपेक्षाअनुसार तीव्र हुन सकेको छैन । विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग यस वर्ष कम देखिएको विराटनगरका व्यापारीहरूले बताएका छन् ।विराटनगर गुद्रीका व्यापारी गोलुका अनुसार अघिल्ला वर्षको तुलनामा यसपटक कारोबार घटेको छ । “यसपालि तरुल महँगो भएको छ, तर माग भने घटेको छ,” उनले भने, “वर्षाका कारण किसानले अपेक्षित उत्पादन गर्न नसक्दा मूल्य बढेको हो ।”



माघे संक्रान्तिको पूर्वसन्ध्यामा आज बजारमा तरुल, सखर, चिउरा, भुजा, तिल तथा हरिया तरकारीको कारोबार केन्द्रित रहेको छ । हाल बजारमा तरुल प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
अर्का व्यापारी पारस मेहताले सखरखण्डको बिक्री पनि सोचेजस्तो नभएको बताए । “अहिलेसम्म बिक्री कमजोर छ, भोलि बिहानसम्म केही सुधार होला भन्ने आश छ,” उनले भने । ग्राहकको आवागमन कम भएकाले व्यापार प्रभावित भएको उनको भनाइ छ ।




तरुल व्यापारी किसान साहका अनुसार गत वर्षको तुलनामा यसपालि बिक्री उल्लेखनीय रूपमा घटेको छ । “साँझपख केही ग्राहक आउँछन् कि भन्ने आश छ,” उनले बताए । त्यस्तै, व्यापारी कुमारी राया कटुवालले महँगीका कारण उपभोक्ताको खरिद क्षमता घट्दा कारोबार सुस्त भएको बताइन् । उनका अनुसार वर्षाका कारण उत्पादन कम हुँदा मूल्य बढ्न पुगेको हो ।
यद्यपि माघे संक्रान्तिका अवसरमा घरमै लड्डु लगायत परिकार बनाउने चलनका कारण तिल, भुजा र सखरको बिक्री भने राम्रो देखिएको छ । किराना पसल व्यवसायी बब्लु महतोका अनुसार पर्वका कारण आवश्यक सामग्रीको माग बढेको छ । “आजको व्यापारबाट म सन्तुष्ट छु,” उनले भने ।


तरुलको मुख्य आपूर्ति आन्तरिक उत्पादनबाट हुने गरेको छ । तराईका सर्लाही, सुनसरी र मोरङ जिल्लाबाट मात्र करिब ६० प्रतिशत तरुल देशभर आपूर्ति हुने गरेको व्यापारीहरूको भनाइ छ । आन्तरिक उत्पादन पर्याप्त भए पनि केही मात्रामा भारतीय कन्दमूल पनि आयात हुने गरेको छ । “करिब ९० प्रतिशत कन्दमूल स्वदेशी उत्पादनकै हुन्छ, बाँकी ८–१० प्रतिशत भारतबाट आउँछ,” व्यापारीहरूले बताए । विशेष गरी सखरखण्ड भने भारतबाट बढी आउने गरेको उनीहरूको भनाइ छ ।
माघे संक्रान्तिपछि तरुलको माग घट्ने भएकाले केहि समय सम्म यसको मूल्य उच्च नै रहने व्यापारीहरूको अनुमान छ ।