विराटनगर । मुनाफा वितरण नगर्ने उद्देश्यका साथ कटहरीमा स्थापित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले पुनः विशेष निःशुल्क स्वास्थ्य उपचार सेवाको घोषणा गरेको छ । नेपालीहरूको सांस्कृतिक पर्व माघे सङ्क्रान्तिको अवसर पारेर अस्पतालले माघ महिनाभरि हाइड्रोसिल र हर्नियाका बिरामीहरूका लागि 'निःशुल्क शल्यक्रिया अभियान' सञ्चालन गर्ने घाेषणा गरेकाे हाे ।
अस्पतालका संयोजक तेजस्वी मण्डलका अनुसार, आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसकी समस्या लुकाएर बसेका विपन्न बिरामीहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो ।
अभियान अन्तर्गत माघ १ गतेदेखि माघ २९ गते सम्मका लागि हाइड्रोसिल र हर्नियाको शल्यक्रिया (Surgery) निःशुल्क हुनेछ । तर, शल्यक्रिया बाहेकका अन्य खर्चहरू जस्तै– औषधि, बेड शुल्क र प्रयोगशाला परीक्षण शुल्क भने लाग्नेछ । प्रयाेगशाला र बेडशुल्क अन्य अस्पतालकाे तुलनामा जीवन विकासमा सस्ताे छ ।
बढ्दो मधुमेहको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले माघ १ गते देखि चैत ३० गते सम्म जम्मा तीन महिनाका लागि मधुमेहका बिरामी वा शङ्का लागेका व्यक्तिहरूका लागि रगतमा चिनीको मात्रा (Blood Sugar) र पिसाब (Urine R/E) जाँच समेत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ ।
यसअघि पनि अस्पतालले तीन महिनासम्म सञ्चालन गरेको अभियानबाट १७ जना बिरामीहरूले निशुल्क शल्यक्रिया गराई लाभ लिइसकेका छन् । "समुदायको आवश्यकता र अघिल्लो अभियानको सफलतालाई हेर्दै हामीले यसपटक पुनः यो सेवा थप गरेका हौँ," संयोजक मण्डलले भने ।
मुनाफा रहित ढङ्गले समुदायको सेवामा समर्पित अस्पतालले विपन्न र पहुँचविहीन नागरिकलाई प्रत्यक्ष स्वास्थ्य लाभ पुर्याउने उद्देश्य बोकेको छ । अस्पतालले सेवा लिन इच्छुक व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।