जसपा नेपालले गर्यो ‘बलिदानी दिवस’ मनाउने निर्णय

<span class='c1'>जसपा नेपालले गर्यो ‘बलिदानी</span> <span class='c2'>दिवस’ मनाउने निर्णय</span>

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।

त्यसैगरी बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ । यसैगरी, बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरेको हो ।

एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको र पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन गरेको छ । बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ । नव–थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

बैठकले आगामी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । गठित समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, परमेश्वर साह, लालकिशोर साह रहनेछन् । समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ । केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि भएको छ । यस निर्णयलाई एकीकरणपछि पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ ।

बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ । नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा पनि सफल बनाउन आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । एकीकरणपछिको पहिलो बैठकले संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने सन्देश दिएको नेताहरूको भनाइ छ ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिको यो बैठकलाई पार्टीको नयाँ राजनीतिक यात्राको प्रारम्भिक आधारका रूपमा हेरिएको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको एकीकरणपछि बसेको पहिलो औपचारिक केन्द्रीय समन्वय समिति बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्