विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ। शुक्रबार विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन मोरङका प्रमुख निर्वाचन अधिकृत भिष्मराज प्रसाईले गरेका छन्।
यसैगरी, मोरङका अन्य निर्वाचन क्षेत्रहरूमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय उर्लावारीमा, क्षेत्र नम्बर २ को रतुवामाईमा, क्षेत्र नम्बर ३ को वेलवारीमा, क्षेत्र नम्बर ४ को विराटनगर–३ स्थित हृदयन्द बाल उद्यानमा तथा क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा स्थापना गरिएको छ।
निर्वाचन आयोगले गत पुस २० गते मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर ६ का निर्वाचन अधिकृत नियुक्त गरेको थियो।
यस्तै, निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतमा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश घिमिरे, क्षेत्र नम्बर २ मा सोलुखुम्बुका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य, क्षेत्र नम्बर ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नम्बर ५ मा सर्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुलीलाई नियुक्त गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मोरङमा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कामकाज प्रत्येक निर्वाचन क्षेत्रस्तरबाटै औपचारिक रूपमा सुरु भएको छ।