विराटनगर । चुनावको मौका छोपेर विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा प्रतिकिलोग्राम दुईसयले बृद्धि गरेका छन् । मासु व्यवसायी संघ मोरङले स्थानीय तह, स्थानीय प्रशासन समेतलाई जानकारी नदिई मूल्य बृद्धिमा कार्टेलिङ गरेको हो । गत पुस ३० गते राती व्यवसायीहरुबीच छलफल भएर विराटनगर–३ कन्चनबारीका मासु व्यवसायीले माघ १ गतेदेखि प्रतिकेजी एकहजार ३०० मूल्य कायम भएको मूल्यसूची टाँस गरेका थिए ।
अघिल्लो दिनसम्म एकहजार १०० सय प्रतिकेजी रहेको मासुको मूल्य अर्को दिन दुई सय बढी परेपछि उपभोक्ता छक्क परेपनि व्यवसायीले स्थानीय प्रशासनसँग छलफलबाट सहमति लिइएको भन्दै ढाँटेका थिए । विराटनगर–३ कन्चनबारी खसीेको मासु पाउने हव मानिन्छ । त्यहाँ कोशीको पहाडी क्षेत्र भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटाको खसी व्यवसायीले ल्याउने गर्दछन् । संघका मोरङ अध्यक्ष सुवास शिवाकोटीले कन्चनबारीका व्यवसायीले मूल्य नबढाउँदा व्यवसाय गर्न नसक्ने स्थिति आएको दावी गरेका छन् । उनका अनुसार यहाँ विराटनगरभरका उपभोक्ता राम्रो मासु लिन पुग्ने गरेका छन् । शिवाकोटीको व्यवसाय भने रोडषेशमा रहेको छ ।
व्यवसायीका अनुसार अहिले खसी पालन गर्ने किसानले समेत मूल्य बृद्धि गरेका छन् । कारण, खसीमा बाख्रा मिसावट गरेर बिक्री गर्ने व्यवसायीहरु हुन् । कन्चनबारीका मासु व्यवसायी निरोज राजबंशीका अनुसार किसानले खसी र बाख्रा सँगै खरिद गर्ने व्यापारीलाई बढी प्राथमिकता दिन्छन् । किनकी खसी बिक्री हुँदा बाख्रा रहन्छन् । खसी र बाख्रासँगै खरिद गर्नेहरुले बजारमा आएपछि दुवै सँगै काट्छन् र मिसावट गरेर बिक्री गर्दछन् । बाख्रा खरिद गर्नेलाई खसी खरिद गर्दा सस्तो पर्दछ । तर, कन्चनबारीका व्यापारीले भने खसी मात्रै खरिद गर्ने गरेको दावी छ ।
संघका अध्यक्ष शिवाकोटीले पनि कन्चनबारी मासु व्यापारको हव भएका कारण ब्राण्ड बिगार्न व्यापारी चाँहैनन् । त्यसैले मूल्य बढाएका हुन् । यसलाई संघले बजारको अन्य क्षेत्रका व्यापारीसम्म पुग्न भने नदिएको शिवाकोटीको भनाई छ । कन्चनबारीका व्यापारीबाट बढाउने निर्णय पुस अन्तिममा गरेको र त्यहि अनुसार माघ १ गतेदेखि लागु भएको उनी बताउँछन् । संघको तथ्यांकमा विराटनगरमा दैनिक एकसयवटा खसी काटिन्छन्, तीमध्ये ६० वटाको मासु कन्चनबारीबाट बिक्री हुने गरेको भनाई छ । बाँकी बजारमा कट्ने खसीको मासुमा कम सुद्धता हुने स्वयम् अध्यक्ष शिवाकोटी स्वीकार गर्नुहुन्छ ।
व्यापारीले एकाएक मासुको मूल्य बढाएको विषय स्थानीय सरकारसम्म गुनासोको रुपमा पुगेपछि विराटनगर महानगरपालिकाले बुधबार छलफलका लागि बोलाएको छ । महानगरपालिकाका पशुपंक्षी तथा कृषि शाखाका प्रमुख हिरालाल यादवका अनुसार व्यापारीले एक हप्तापछि महानगरपालिकामा मूल्य बढाएको जानकारी दिएका छन् । त्यो विषयमा सरोकारवाला निकायसँग समेत बसेर छलफल गर्ने र मूल्य कायम गर्ने तयारी महानगरपालिकाले थालेको यादवको भनाई । व्यापारीले प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग बुधबार छलफल गरेको यादवले जानकारी दिनुभयो । अब स्थानीय प्रशासन, वाणिज्य कार्यालय, उपभोक्ता संघ समेतको छलफलपछि निष्कर्ष निकालिने भएको छ ।