विराटनगर । देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नीजि क्षेत्र सबैभन्दा कठिन स्थितिमा रहेको सरोकारवाला निकायले गुनासो गरेका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायीक पहल तथा उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघ, कोशीसँगको सहकार्यमा शुक्रबार गरेको बृहत अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यावसायी तथा विज्ञहरुले निजी क्षेत्र आफ्नै कमजोर पहलका कारण असजिलोमा फसेको बताएका हुन् ।
‘निजी क्षेत्र ः प्रश्न, पहिचान र प्रतिवद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा देशमा औद्योगिक तथा व्यवसायीक विकास र विस्तारबाट अर्थतन्त्रमा पु¥याउँदै आएको योगदानका प्रमुख हिस्सेदार निजी क्षेत्रलाई राजनीतिक घटनाक्रमले कमजोर बनाएको चिन्ता व्यक्त गरिएको हो ।
कार्यक्रममा नेपाल व्यवसायीक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोसीले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाबीच विभाजन हुनु सबैभन्दा दुःख को कुरा भएको बताए । उनले एकतावद्ध हुनुपर्ने यो क्षेत्रमा व्यक्तिगत उद्योग र व्यावसायका लागि स्वार्थगत राजनीतिक सम्झौता हावीउन्मुख हुँदा समग्र क्षेत्रलाई असर परेको बताए । अध्यक्ष जोसीले जेनजी आन्दोलनपछि राज्य कमजोर र निरीह बन्दा निजी क्षेत्र त्रसित भएर बाँच्न परेको गुनासो गरे । उनले सबै एकतावद्ध भएको भए पहल लिनसक्ने सामर्थ आर्जन हुने अवस्था आउन सक्ने संभावनाप्रति संकेत गरेका थिए ।
अब निर्वाचनमा देश गएको भएपनि यसले दिने राजनीतिक निकासमा निजी क्षेत्र कति सुरक्षित ? भन्ने अहिले अन्यौल रहेको उनको भनाई छ । जोसीले अब निजी क्षेत्रले प्रश्न, पहिचान र एकताका लागि प्रतिवद्ध हुने कुरामा साझा मत बनाएर बढ्नुपर्नेमा जोड दिए ।
यसैगरी प्यानल छलफलका क्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविज्ञ डा.चिरञ्जीवी नेपालले नेपालमा निजी क्षेत्रले आफ्नो अस्तित्व स्वीकार गर्न नसकेको बताएका थिए । उनले आफैं लगानी गर्ने, आफैं मुनाफा आर्जन गर्ने, रोजगार सिर्जना गर्ने त्यति मात्रै नभई राज्यलाई कर बुझाएर राष्ट्रिय अर्थतन्त्र चलाएमान बनाउने निजी क्षेत्र आवश्यक पर्दा पहल लिनसक्ने निम्जरो देखिएको बताए । निजी–सार्वजानिक–सहकारी अर्थनीति सान्दर्भिक नभएको बताउँदै यसलाई सच्याउन जरुरी रहेको बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष भवानी राणाले विकासको आधार मानिनुपर्ने निजी क्षेत्रको मनोबल कमजोर स्थितिमा रहेको बताएकी थिइन् । राणाले वर्तमान अन्तरिक सरकारले त निजी क्षेत्रलाई स्वीकार नै नगरेको गुनासो गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने दलहरुको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि प्रष्ट नभएको बताइन् । निर्वाचन हुने र सरकार आउने कुराले मात्रै कुनै परिवर्तन नहुने बताउँदै स्पष्ट नीति र मार्गदर्शन आवश्यक पर्ने बताइन् ।
कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सवोधराज प्याकुरेलले राज्यमा सामाजिक न्याय र नागरिकको सुरक्षा नभएको महसुश भएमा व्यवासायीक वातावरण बिग्रने बताएका थिए । उनले निजी क्षेत्र अहिले ठिक त्यहि अवस्थाबाट गुज्रदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । प्याकुरेलले निजी क्षेत्रले संघीयतालाई सवल बनाउने प्रयासमा समेत भूमिका कमजोर पारेको बताउँदै भने–प्रश्न गर्न र पहल लिन निजी क्षेत्र स्वायत्त हुनपर्छ । निजी क्षेत्र संघीय सरकारसँग डराउने र आफ्नो फायल बोकेर स्वार्थका निर्णयमा लाग्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रको साझा अस्तित्वका लागि साझा पोलेसी बनाउन लाग्नुपर्ने बताए ।
उद्योग संगठन मोरङका पूर्व अध्यक्ष राकेश सुरानाले साझा धारणाबाट विभाजित हुँदा त्यसको असर जेनजी आन्दोलनमा निजी क्षेत्रले बेहोर्नु परेको बताएका थिए । राष्ट्रिय व्यवसायीक पहलका संयोजक किशोर प्रधानले जेनजी आन्दोलनको पृष्ठपोषक माओवादीको सशस्त्र संघर्ष भएको जिकीर गरेका थिए । सशस्त्र संघर्ष अन्तिम हुँदै गर्दा जन्मिएका युवाले राज्यसत्ता लिन ध्वंसको बाटो लिएको उनको बुझाई थियो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अनेक असजिलाका बीचपनि देशप्रतिको मायाले निजी क्षेत्रलाई बाँधिरहेको बताउनुभयो । राठीले असजिलो परिस्थिति झेल्न बारम्बारको सिकाई धेरै भइसकेको बताएका थिए ।