विराटनगर । नेपाली राजनीतिमा कोइराला विरासतसँग जोडिएको विराटनगर, त्यसको गतिविधि हुने कोइराला निवास निर्वाचन क्षेत्र नम्बर ६ भित्रै पर्दछ । २०७९ सालको निर्वाचनमा कोइराला परिवारकै सदस्य, डा. शेखर कोइरालाले ३५ हजार २२४ मतका साथ जीत हाँसिल गरेर विराटनगर र कोइराला परिवारको राजनीतिक विरासत जोगाएको यो क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले बाजी मार्ला ? प्रतिक्षामा रहनुपर्ने हुन्छ ।
देशका प्रत्येक सहरमा नयाँको हल्ला र चर्चा विशेष हुँदा विराटनगर उमेदवार र चर्चाका हिसाबले कमजोर देखिन्छ । यद्यपी तीनवटै क्षेत्रबाट अहिले नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवारी दिएको छ । उम्मेदवारहरुको राजनीतिक स्टाटस, सामाजिकीकरण, समाज बदल्न गरेका योगदानको चर्चा बेग्लै पाटोमा उल्लेख होलान् । नयाँमा मत खसाल्ल उत्कट मन बोकेका मतदाता देखिदाँ पनि राजनीतिक भूमि विराटनगरमा पुरानै पार्टीबीचको प्रतिस्पर्धा केन्द्रमा राखेर दावी र चर्चा हुने गरेको सुनिन्छ ।
विराटनगर महानगरालिका भित्रका ४ ५, ६, ७, ९, ११ र १२ नम्बर वडा यो क्षेत्रमा पर्दछ । यसमध्ये विराटनगर महानगरपालिका वडा ७ मा कोइराला निवास छ । त्यस बाहेक यो निर्वाचन क्षेत्रमा बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाको २ नम्बरदखि ७ नम्बर वडा समेटिएका छन् ।
यसपटक १ लाख ३७ हजार ८३२ जना मतदाता छन् । २०७४ सालमा यो क्षेत्रबाट नेकपा एमालेका नेता लालबाबु पण्डित निर्वाचित भएका थिए । राप र तापको केन्द्रमा एमाले थियो, त्यो पार्टी भित्र खडेरीका नेता भनेर लालबाबु चिनिन्थे । इमान्दार लालबाबुले गछिया–पोखरीया सडक, विराटनगर महानगरापलिका भित्र नहर सडक लगायतको विकासमा आफ्नो थोरै योगदान दिए तर २०७४ को जीतको निरन्तरता २०७९ मा शेखरले उल्ट्याई दिए । शेखरले ३५ हजार २२४ मत ल्याउँदा लालबाबुले २२ हजार ९४६ मात्रै मत पाएका थिए ।
यो पटक मोरङ ६ मा काँग्रेस भित्र विद्रोही समूहको साथ छोडेका शेखर कोइराला र एमालेभित्र दवावमा चेपिएका बिनोद ढकाल छन् । संयोग चाँहि २०७४ को निर्वाचतमा जीत हाँसिल गरेका पण्डित एमालेको निर्वाचन कमाण्डर बनेर ढकाललाई सहयोग गरिरहेका छन् ।
राजनीतिक र सामाजिक रुपमा इमान्दार मानिन्छन् ढकाल पनि । अर्को चाँहि उनी डाक्टर शेखर कोइरालासँग प्रतिस्पर्धामा दोहोरिने यो निर्वाचनको एकल नेता पनि । अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०७९ मा यादवकुमार प्रधानले ९ हजार १४० मत ल्याएर तेस्रो बनेका थिए । उनै यादव उम्मेदवारको रुपमा दोहोरिएनन्, रास्वपाले नयाँ उमेदवारको रुपमा रुबिना आचार्यलाई अगाडी सारेको छ । त्यसैले चुनावी मैदानमा कोइराला÷ढकालको रि–म्याच हुने अड्कल गरिन्छ ।
रि–म्याच
डा. शेखर कोइराला र विनोद ढकालबीच २०६४ सालको संविधानसभा निर्वाचनमा यहि क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला कोइराला निर्वाचित भएका थिए । २०६४ पछि पाँच निर्वाचन हुँदा कोइराला तीन पटक निर्वाचित भइसकेका छन् । यो १७ वर्षको अन्तरालपछि कोइराला सामु ढकाल अगाडी उभिएका छन् । सत्ता र शक्तिको कम दुरुपयोग गर्ने, आन्तरिक पार्टीभित्र इमानको राजनीति गर्नुपर्ने अडानमा उभिएका उनै ढकालले कोइराला विरासत जोगाउन तयार रहेका शेखर र नयाँ पार्टीको छालमा उभिएकी रुबिनासँग सामना गर्नुपर्ने देखिन्छ । त्यति मात्रै नभई २०७९ सालको नेकपा माओवादी अहिले नेपाली कम्यूनिष्ट पार्टीको नामले परिवर्तन मात्रै नभई राष्ट्रिय राजनीतिमा एजेण्डाको रुपमा अझै स्थापीत भएको दलका उमेदवार पनि छन् । मजदुर नेताको रुपमा चिनिएका ओपेन्द्र रायलाई नेपाली कम्यूनिष्ट पार्टीले सारेको छ ।
२०७९ सालमा समानुपातिकमा नेपाली कांग्रेसले २३ हजार ७१० मत पाएको थियो । एमालेले १९ हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५२६ मत पाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ६४१, माओवादी केन्द्रले ८ हजार १८५ मत पाएको थियो ।
अपर्झटको निर्वाचन
यो निर्वाचनमा नेपाली काँग्रेस–एमालेका उमेदवारका लागि मतदाताबीच पुग्न स्थानीय पार्टी कार्यकर्ताको बढी भूमिका हुन्छ । अन्य समयमा जस्तो दल नखुलेका मतदातासम्म नेता आफैं पुग्ने स्थिति कमजोर छ । कारण हो, दुई दलको सरकार, सरकारले लिन नसकेको पहल, त्यसको आक्रोशले उछालिएको सडक, जेनजी आन्दोलन र त्यसमा भएको क्षतिको दोष नेतृत्वकर्ता भएका कारण झेल्नुपर्ने हुन्छ ।
त्यसमा पनि एकाएक सरकारबाट हटेर अन्तरिम सरकारले तोकेको निर्वाचनमा आउनु पर्दा जीत हाँसिल गरेर पनि मतदातासँग राम्रोसँग घुलमिलमा नपुगेका नेतालाई अझै कठिन देखिएको छ । नयाँलाई पुराना दलका नेता देखाएर जित्ने नारा बनिरहँदा पुरानालाई अहिलेसम्म क्षेत्रमा भएका परिवर्तन देखाउन र बुझाउन कठिन छ । त्यसैले क्षेत्रगत रुपमा अहिले त्यसको तयारी व्यापक रुपमा भइरहेको उनीहरु बताउँछन् ।
नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा निर्वाचनका लागि टोलका मतदाता भेट्ने कार्यक्रममा व्यस्त रहेको बताउँछन् । थापाले अहिलेसम्म सत्तामा पुग्न नसकेको र परीक्षण भईनसकेको नेतालाई यस पटक सचेत मतदाताले चाहेको दावी गरे । उनले ढकाल आफ्नो राजनीतिक इमानमा अडिग रहेका कारण मतदाताले परिपक्क र नयाँ नेतृत्वलाई स्थापीत गर्ने आसामा रहेको सुनाए ।
यसैगरी नेपाली काँग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाँईले अहिले नै बाहिरी हल्ला भएजस्तो काँग्रेस वृत्तमा कसैको चर्चा नभइरहेको सुनाए । उनले नयाँ दलले सक्रियता बढाएको देखिएपनि पुराना दलको संगठनमा हावी भइनसकेको जिकीर गरे । निर्वाचन क्षेत्र नम्बर ६ आगामी निर्वाचनको तयारी चलिरहेको सुनाए ।
पुरानो पार्टी नेपाली काँग्रेसको समर्थन रोकेर नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रुबिना आचार्यलाई जिताउने अभियानमा रहेका युवा भुवन घिमिरे यस पटक मोरङ क्षेत्र नम्बर ६ ले नयाँ परिक्षण गरिदिने बताउँछन् । उनले स्थिति क्रमशः सुधारको गतिमा गएको दावी गर्दै भने–काँग्रेसमा सधैं एकै पात्र, एमाले सुन्नै नसक्ने दल, त्यसैले अब घण्टी बज्ने निश्चित छ । उनले उर्जाशील उमेदवार रहेका कारण पनि मतदाताले मत दिनुपर्ने बताए ।
यसैगरी नेपाली कम्यूनिष्ट पार्टीका उमेदवार ओपेन्द्र रायले औद्योगिक क्षेत्र भएका कारण मजदुर र किसानका घरपरिवारको मत आफूले प्राप्त गर्ने दावी गरेका छन् । उनले अहिलेसम्म मजदुर भएर उनीहरुको पक्षमा आवाज उठाउँदै आएकोले प्रत्येक उद्योगमा कार्यरत मजदुर आफ्ना मतदाता रहेको दावी गरे । मजदुर र उनीहरुसँग आश्रित परिवारका सदस्य मात्रै नभई उद्योगीले समेत खुलेर सहयोग गर्ने उनको भनाई छ ।
नेता नदोहो¥याउने क्षेत्र
मोरङको निर्वाचन नम्बर ६ का मतदाताले अहिलेसम्म दिने सन्देश भनेको नेता नदोहो¥याउने हो । हरेक पटक नयाँलाई जिताउने र परीक्षणपछि नेता बदल्ने क्षेत्रको रुपमा यो क्षेत्रलाई चिनिन्छ । २०४८ सालयता भएका प्रत्येक निर्वाचनमा कुनै न कुनै फेरबदल छ । एउटै दल वा व्यक्ति यो क्षेत्रमा लगातार दोहोरिने संयोग छैन । २०४८ सालमा मोरङ–६ (तत्कालिन ७ नम्बर क्षेत्र) मा नेपाली कांग्रेसका श्यामलाल तबदारले एमालेका मोहनचन्द्र अधिकारीलाई जितेका थिए । तीनवर्षपछि २०५१ सालमा मध्याअवधीमा एमालेका गुरु बरालले जितेका थिए । त्यसपछि २०५६ सालको निर्वाचनमा फेरी काँग्रेस फर्कियो, हरिनारायण चौधरीले बराललाई पराजित गरिदिए । २०६२\६३ को जनआन्दोलनपछि २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो । २०६४ सालमा मधेसी जनअधिकार फोरममा पुगेका काँग्रेसका नेता विजयकुमार गच्छदार विजयी भए । काँग्रेसका डा. शेखर कोइराला पराजित बने । गच्छदारले सुनसरी–३ र मोरङ ७ बाट जितेका थिए । उनले मोरङ ७ छोडे । उपनिर्वाचनमा डा.शेखर कोइराला र बिनोद ढकालबीच प्रतिस्पर्धा भयो । कोइरालाले जीत निकालेका थिए ।
मधेशी जनअधिकार फोरम पुगेका गच्छदार त्यो बीचमा त्यहाँबाट छुट्टै दल बनाउन निस्के । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक दल बनाए । २०७० सालमा निर्वाचन भयो । कोइरालाले गच्छदारलाई पराजित गरेर हाफ्नो उचाई बढाए । गच्छदारलाई काँग्रेसमा फर्कन बाध्य बनाएका थिए । संविधान जारी भएपछि २०७४ सालमा लालबाबु पण्डित निर्वाचित हुँदा फेरी कोइराला हारे । २०७९ मा लालबाबुलाई हराएर कोइराला फर्किए । अब २०८२ फागुन २१ गतेको निर्वाचनमा मतदाताले कसरी मत जाहेर गर्लान् र कसले निर्वाचनमा बाजी मार्ला हेर्न भने बाँकी नै छ ।