सुन किन्नै नसक्ने, विराटनगरमा चाँदी समेत अभाव

<span class='c1'>सुन किन्नै नसक्ने, विराटनगरमा</span> <span class='c2'>चाँदी समेत अभाव</span>

सोनु साह
विराटनगर । बजारमा दिनदिनै सुनको मूल्य बढ्दै गएपछि सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्। बिहानैदेखि पसल खोलेर बसे पनि अपेक्षित रूपमा बिक्री नहुँदा व्यवसाय सुस्ताएको व्यवसायीहरूको गुनासो छ। विवाहको सिजन चलिरहे पनि सोचेअनुसार सुनको कारोबार नभएको उनीहरू बताउँछन्। पछिल्ला केही वर्षयता लगातार सुनको मूल्य बढ्दै गएपछि व्यापारमा ब्रेक लागेको व्यवसायीहरूको भनाइ छ। महँगीका कारण ग्राहकहरूले सुन खरिद गर्न छोड्दै गएका छन्, जसको प्रत्यक्ष असर व्यापारमा परेको छ।

विराटनगरका सुन व्यवसायी जुगल किशोर राठीका अनुसार सुनको मूल्य अत्यधिक बढेकाले अहिले व्यापार आधामा झरेको छ। उनका अनुसार पसलमा आउने ग्राहकहरूले आवश्यकता अनुसार पनि थोरै मात्रामा सुन खरिद गर्ने गरेका छन्। “पहिले एक जना ग्राहकले १० तोला सुन किन्थे, अहिले ५ तोला पनि किन्न गाह्रो भएको छ,” उनले भने। अधिकांश ग्राहक नयाँ सुन किन्नुभन्दा पुरानो सुन सटासाट गर्न आउने गरेको राठीको भनाइ छ।

उनका अनुसार हाल चाँदीको माग भने बढेको छ। चाँदीको मूल्य बढे पनि बिक्री भने स्थिर रहेको उनले बताए। तर समग्रमा भने सोचेजस्तो व्यापार हुन नसकेको उनको भनाइ छ। आगामी दिनमा चाँदीको मूल्य क्रमशः बढ्दै जाने अनुमान पनि उनले गरे। त्यस्तै, अर्का व्यवसायी अरुण अग्रवालका अनुसार अहिले सुनको बिक्री निकै कम भएको छ। “अहिले ग्राहकहरू किन्नभन्दा बेच्न बढी आउँछन्,” उनले भने। महँगीका कारण व्यापार अत्यन्तै घटेको र विवाहका बेला समेत ग्राहकहरूले न्यून परिमाणमै सुन खरिद गर्ने गरेको अग्रवालको भनाइ छ। उनले काँचो चाँदीको माग बढ्दै गएको पनि बताए।

विराटनगरका अधिकांश सुनचाँदी व्यवसायी हाल निराश अवस्थामा छन्। पसल खोलेर दिनभरि बसे पनि बिक्री नहुने अवस्था आएको उनीहरू बताउँछन्। कहिलेकाहीँ थोरै ग्राहक आए पनि अपेक्षित कारोबार हुन नसकेको गुनासो छ।
सुन व्यवसाय संघका अध्यक्ष सशीभूषण साहका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि दिनदिनै मूल्य वृद्धि भइरहेको छ। उनले विदेशी मुद्राको उतारचढावले पनि सुनको मूल्यमा असर पार्ने बताए। उनका अनुसार हाल कारोबार २० प्रतिशतमा झरेको छ। “यस्तै अवस्था रहिरहे साना व्यवसायी डुब्ने अवस्थामा पुगिसकेका छन्,” उनले चेतावनी दिए।

साहका अनुसार मोरङ जिल्लामा दैनिक २५ केजी सुन कोटाका रूपमा आउने गरेको छ र सोही अनुसार व्यवसायीहरूलाई वितरण गरिँदै आएको छ। हाल मोरङ जिल्लामा १६५ वटा सुन पसल दर्ता रहेका छन्। यसैबीच, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा ७ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ थियो। महासंघका अनुसार हालको सुन र चाँदीको मूल्य नेपाली बजारको इतिहासमै अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्