काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको दाबी गरेका छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
उनले भने, ‘मेरै ठाँउमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न । मैले धेरै केही भन्नु पर्दैन् । अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साच्चैको । बतासे अण्डाबाट चल्ला निक्लिदैँन् । बतासे अण्डाहरुबाट कुनै चल्ला निस्किनेवाला छैन् । बतासको खेती गरिरहेका छन् । यीनिहरुसँग संगठन, उद्देश्य, विचार छैन् । भोलि उठि कहाँ जाने केही थाहा छैन् । फर्कि आउने होकी होईन त्यो पनि थाहा छैन् ।’यस्तै, उनले आगो बाल्ने, देश बिगार्ने, भड्काउन र तोडफोड गर्नेलाई क्रान्ति भनेर महिमा गाएको भन्दै आकासे खेती गर्नेहरु धर्तीमा जनतासम्म नपुगेको बताए ।
उनले भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ । यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमा गाइएको छ । र अरु माथि विभिन्न प्रकारको आरोप लगाएको छ । यि आकासे खेती हुन् । यीनिहरु जनतासम्म पुगेका छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन् । एउटा मोबाइल भन्ने भाडो छ, त्यही भाडाबाट देशमा हुडलो मचाएको छ ।’