विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित पुरस्कृत गरेको हो । प्रतिष्ठानले १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।


त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित १५ हजार राशिकै ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा. कौशिला रिसाललाई प्रदान गरिएको थियो । त्यस्तै छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्कार सरला चापागाईंसहित संस्थापकहरुले पुरस्कार राशि र सम्मानपत्र समर्पण गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । प्रतिष्ठानले समय–समयमा साहित्य गोष्ठी, कृति प्रकाशन र स्रष्टाहरुलाई सम्मान कार्यक्रम आयोजना गर्दै आएको महासचिव मदन भण्डारीले जानकारी दिए ।