विराटनगर । बिराट क्यान्सर इन्स्टिच्युट (BCI) को आयोजनामा "Birat Cancer Symposium 2026" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । विश्व क्यान्सर दिवसलाई लक्षित गरी "Beyond the Beam: Advancing Cancer Care in Eastern Nepal" भन्ने मूल नाराका साथ आयोजित यस सिम्पोजियमले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ।

सिम्पोजियममा जटिल क्यान्सर केसहरूको सफल उपचार अनुभव आदान–प्रदान गरिएको थियो। क्यान्सर उपचारमा देखिएका चुनौतीहरू तथा आधुनिक प्रविधिको प्रयोग बारे विशेषज्ञहरूबीच गहन छलफल भएको थियो। यस्तै, क्लिनिकल अभ्यासमा आएका नयाँ शोध, नवीन उपचार पद्धति र बहु–विषयक उपचार दृष्टिकोण बारे प्रस्तुतिहरू गरिएको थियो।
आयोजकका अनुसार पूर्वी नेपालमा क्यान्सर उपचारलाई बहु–विषयक पहुँचसम्म विस्तार गर्दै बिरामीलाई गुणस्तरीय र विश्वस्तरीय सेवा प्रदान गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ। पूर्वी नेपालमा क्यान्सर उपचारलाई केवल 'Radiation' (Beam) मा मात्र सीमित नराखी यसलाई बहु-विषयक (Multidisciplinary) पहुँचसम्म पुर्याउने लक्ष्य रहेको छ।
कार्यक्रममा GI Oncology, Gynecologic Oncology, Breast Oncology, Head & Neck Oncology, Ophthalmic Oncology, Uro-Oncology, Haematology Update लगायतका विषयमा प्यानल छलफल भएको थियो।



पूर्वी नेपालमा विगत पाँच वर्षदेखि क्यान्सर रोगको उपचारमा फड्को मारेको छ। स्वास्थ्य र क्यान्सर रोगको क्षेत्रमा नेपाल सरकारले गर्न नसकिरहेको परिप्रेक्ष्यमा निजी अस्पतालले आएर राम्रो सेवा दिइरहेका छन्। बिराट क्यान्सर इन्स्टिच्युटले छोटो समयमा यति धेरै क्यान्सरको सफल उपचार गरेको हेर्दा खुसी लाग्यो भनी नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले बताउनुभयो।
त्यसैगरी पूर्वी नेपालमा क्यान्सर रोग सम्बन्धी यस्तो किसिमको छलफल कार्यक्रम हुनु कदम जरुरी थियो। क्यान्सरको उपचार एकजना डाक्टरले उपचार गरेर मात्रै निको हुँदैन, सबैजना डाक्टरहरु मिलेर उपचार गर्दा खेरी क्यान्सर रोगको सफल उपचार गर्न सकिने भरतपुर क्यान्सर अस्पतालको एक्जुकेटिभ डाइरेक्टर तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले बताउनुभयो।
प्रो.डा.नरेन्द्र पण्डित, डा.अस्मिता रायमाझी, डा.राहुल महतो, डा. प्रेरणा अर्ज्याल काफ्ले र डा. भरतमणी पोखरेल कार्यक्रमका प्रोग्राम कोअर्डिनेटरको रुपमा रहनुभएको थियो।
कार्यक्रममा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलका संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल बिक्रम कार्की, डा.उज्ज्वल चालिसे, डा.प्रभु प्रसाद शाह, डा.अम्बुज कर्ण, डा.देज कुमार गौतम लगायतका विशेषज्ञहरूको सहभागिता रहेको थियो। काठमाडौं, भरतपुर, मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न हस्पिटलका क्यान्सर रोग विशेषज्ञ, सर्जन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।