विराटनगर । चेतना संरक्षण प्रतिष्ठानले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा योगदान पुर्याएका स्रष्टा तथा संस्थालाई नगदसहित सम्मान गरिएको छ । विराटनगरमा शनिबार आयोजित विशेष समारोहमा बालप्रतिभादेखि साहित्य, कला, पत्रकारिता, समाजसेवा र खेलकुद क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुलीले स्रष्टा र सर्जकका पक्षमा प्रदेश सरकारबाट आगामी दिनमा सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । संस्कृति सामाजिक विकास मन्त्रालयअन्तर्गत पर्ने विषय भए पनि यसको पर्यटनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत प्रतिष्ठानका गतिविधिमा सहयोग गरिने बताए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले संस्थामा सबै सदस्य कार्य र योगदानका आधारमा समर्पित रहेको बताइन् । समाजमा लुकेर रहेका प्रतिभा र सम्मानबाट विमुख स्रष्टालाई पहिचान दिलाउनु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उनले साहित्य, कला, युवा र सामाजिक अभियन्तालाई सकारात्मक दृष्टिले हेरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।



वार्षिकोत्सव समारोहमा भारतको असाम राज्यका साहित्यकार तथा कलाकार कलाश्री विनोद खनाललाई दुई लाख रुपैयाँ राशिको जगतबन्धु–अञ्जु कार्की चेतना विशेष सम्मान प्रदान गरिएको छ । त्यसैगरी, जनकपुरका साहित्यकार डा। राजेन्द्र विमललाई एक लाख रुपैयाँ राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान प्रदान गरिएको हो ।
प्रतिष्ठानकी अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौंका कलाकार मुकेश मल्ले ५१ हजार रुपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललित कला चेतना सम्मान, महोत्तरीका सामाजिक अभियन्ता डा.ओममूर्ति अनिलले ओमप्रकाश गोयल समाजसेवा चेतना सम्मान, पत्रकार मातृका पौडेलले नरेश सुवेदी पत्रकारिता चेतना सम्मान प्राप्त गरे । त्यसैगरी, विराटनगरस्थित परमार्थ सिंघीया आरती सेवा संस्थालाई बालकिशन–नर्वदा देवी सनातन मानवीय धर्म संस्कृति चेतना सम्मान प्रदान गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बालाई ५१ हजार रुपैयाँ राशिको डा। नरेन्द्र–भवानीशंकर–योगमाया युवा प्रतिभा चेतना सम्मान समर्पण गरिएको थियो ।
सोही अवसरमा मोरङका बालप्रतिभा बबिता राजबंशी र मिसराना खातुनलाई समान २१–२१ हजार रुपैयाँ राशिको केदारनाथ–श्रीमती मञ्जु सत्याल बालप्रतिभा चेतना सम्मान प्रदान गरिएको प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ले जानकारी दिए ।