विराटनगर । सौर्य एयरलाइन्सले पुनः उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको हो ।
नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा सौर्य एयरलाइन्स र अन्य एयरलाइन्स समेतलाई निर्देशित सम्पूर्ण सुझावको पालना गरेसँगै पुनः उडान अनुमति दिएको कम्पनीले जनाएको छ ।
उडान अनुमतिका लागि टेक्निकल सफ्टवेयर खरिद र जडानपछि सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेपछि प्राधिकरणले उडान अनुमतिपत्र नवीकरण गरेको हो।
सौर्य एयरलाइन्सको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा मार्किङ्ग लाइन ६० प्रतिशतभन्दा कम भएपछि त्यसको सुधारका कामहरु गरिएका थिए ।
नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसँगै सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी पुनः नियमित उडान सुरु गर्ने भएको हो । कम्पनीले तत्काल एउटा विमानबाट सेवा दिने तयारी गरेको छ ।
कम्पनीले सुरुमा विराटनगर र भद्रपुरमा नियमित उडान सुरु गर्न लागेको छ । एयरलाइन्सका अनुसार विगतमा सुरक्षा अडिटमा ६० प्रतिशत अङ्क ल्याउन नसक्दा उडान अनुमति पत्र नवीकरण भएको थिएन। तर, हाल प्राधिकरणले दिएका २३ बुँदे सुरक्षा सुझावहरू पूर्ण रूपमा पालना गरेको र आवश्यक सफ्टवेयर खरिद गरी पुनः अडिट गर्दा ६५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेकाले उडान अनुमति पाएको प्रवक्ता मुकेश खनालले जानकारी दिएका हुन्।
कम्पनीसँग ९ एन–एलइ र ९ एन–एएनएम कलसाइनको दुइटा विमान छ। त्यसमध्ये ९–एनएलइ कलसाइनको विमान एक वर्ष अघिदेखि प्राविधिक समस्याका कारण ग्राउन्डेड छ। कम्पनीले ९ एन–एएनएम विमानबाट विराटनगर र भद्रपुर उडान गर्ने योजना बनाएको छ । कम्पनी निकट भविष्यमै एटीआर ७२–६०० जहाज ल्याएर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।
सौर्य एयरलाइन्स वैदेशिक लगानी भएको संस्था हो। विगत १८ महिनादेखि उडान अवरुद्ध हुँदा कम्पनीले आफ्ना १०५ देखि १६५ जना कर्मचारीहरूको तलब, भत्ता र आवश्यक प्राविधिक ट्रेनिङ गरेको थियो।