एक करोड पचास लाखभन्दा बढी मतपत्र छपाइ

<span class='c1'>एक करोड पचास लाखभन्दा</span> <span class='c2'>बढी मतपत्र छपाइ</span>

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा बुधबार जानकारी दिँदै प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको बताए । शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जनाएका छन् । उनले भने , “प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्रगतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिबारसम्म मतपत्र छपाइ सकिन्छ ।” दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको थियो ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । मङ्गलबारसम्म ४७ जिल्लाका मतपत्र छपाइ सकिएको थियो । बुधबार थप छ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको आयोगका सहायक प्रवक्ता जिसीले बताउनुभयो । हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको थियो ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।

- साभार गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्