काठमाडौं । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै सन्तोष परियार, सुदन किँरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए । उनीहरूका अनुसार गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा चुनावी अन्तरिम सरकार गठन भई संसद् विघटन भएको र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको जानकारी दिइयो ।
उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का प्रत्यक्ष उम्मेदवार जन्मदेव जैसीका अनुसार संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेनजी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि उक्त निर्वाचन कोसेढुंगा सावित हुने छ ।
पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ ।