विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलका बालबालिकाहरूले मंगलबार विद्यालय परिसरमा विज्ञान प्रदर्शनी आयोजना गरेका छन् । स्कुलले मन्टेस्श्वरी तर्फ नर्सरीदेखि १ सम्म र स्कुल तर्फ कक्षा २ देखी ५ सम्मका विद्यार्थीहरूले वर्षभरि अध्ययन गरेको किताबी ज्ञानलाई व्यवहारमा उतार्दै विभिन्न शैक्षिक सामग्री र परियोजनामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीका अनुसार विद्यालयले समय–समयमा यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उहाँले बालबालिकालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक तथा क्रियात्मक सिकाइमा जोड दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वर्षभरि पुस्तकमार्फत अध्ययन गराएका विषयवस्तुलाई व्यवहारमा उतार्ने अवसरका रूपमा विज्ञान प्रदर्शनी आयोजना गरेका हौँ। यसले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै सिकाइलाई दिगो र प्रभावकारी बनाउँछ।” पुरीका अनुसार काठमाण्डौ भ्याली ललतिपुरमा रहेको रातो बङ्खला एजुकेशन फाण्डेशन सँगको सहकार्यमा विद्यालयले पूर्ण रूपमा क्रियाकलापमा आधारित शिक्षण पद्धति अवलम्बन गरेको छ । उक्त सहकार्यबाट शिक्षकहरूलाई आवश्यक सीपमूलक तालिम प्रदान गरिएको र बालबालिकालाई व्यवहारिक सिकाइका माध्यमबाट ज्ञान दिन पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
विज्ञान प्रदर्शनी अभिभावकसमक्ष बालबालिकाले सिकेका ज्ञान र सीप प्रदर्शन गर्ने प्रभावकारी माध्यम बनेको विद्यालयले जनाएको छ । कार्यक्रममा सहभागी भएका अभिभावकहरूले आफ्नो बालबालिकाहरुको प्रतिभालाई हेरेर प्रसङसा समेत गरेका थिए ।