काठमाडौं । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्मको कथावाचन र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
फिल्म ‘जेरी’ पछि अभिनयका लागि खासै प्रशंसा नपाएकी अभिनेत्री आना शर्माका लागि ‘रमिताको पिरती’ सञ्जीवनी बनेको बताइन्छ । दर्शक आनाको अभिनयबाट प्रभावित भएको प्रतिक्रिया दिएका छन् भने फिल्मको समग्र सन्देशले पनि आफूहरूलाई भित्रैदेखि छोएको बताएका छन् । फिल्मले बिखण्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोका यात्रालाई प्रस्तुत गरेको छ। जेनजी पुस्ताको भावनालाई यथार्थपरक रूपमा उतारेको भन्दै युवा दर्शकले फिल्मको प्रशंसा गरेका छन् । लेखक तथा निर्देशक सुदीप्ताका अनुसार हल भ्रमणका क्रममा दर्शकले आफ्नै जीवनकथा जस्तै लागेको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा आनाको अभिनयले धेरैको मन जितेको छ। अभिनेता भुवन केसीले पनि ‘रमिताको पिरती’ हेरेपछि अनमोल केसी र आना शर्मालाई लिएर फिल्म बनाउने चाहना व्यक्त गरेका छन् । उनले फिल्म उच्चस्तरीय बनेको र आनाको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । अभिनेत्री ऋचा शर्मा र बेनिशा हमालले पनि फिल्म र आनाको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।