काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्री कुमार इङ्नामले निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन् ।
शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन् ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री इङ्नामले चैत्र १ गते जसरी पनि हस्तान्तरणको लागि निर्देशन दिएको बताउँदै तर कामको गति हेर्दा अझैपनि सहज ढंगबाट काम सकिने सम्भावना नदेखिएको जानकारी दिए । उनले तोकिएको समयमा जसरी पनि निर्माण कार्य पूरा गर्नुपर्ने भन्दै त्यसको कुनै विकल्प नभएको धारणा राखे । उनले भने,‘यो कामको गति हेर्दा चाँडै निर्माण सम्पन्न हुन्छ नै जस्तो लागेको छैन । चैत्र १ गते जसरी पनि हस्तान्तरण गर्नुपर्छ भनेर निर्देशन दिएको थिए । तर कामको गति हेर्दा त्यो देखिएको छैन । काम अझैपनि सहज ढंगबाट सकिने सम्भावना छैन ।’
त्यस्तै अध्यक्ष दाहालले भवन निर्माणको काम जुन गतिमा हुनुपर्ने हो त्यो नभएको बताए । सदन चलाउने बेलासम्म जसरी पनि भवन हस्तान्तरण गर्छौं भन्ने प्रतिक्रिया निर्माण पक्षबाट आएको उनले जानकारी गराए । उनले भने,‘हामीलाई जुन गतिबाट यो बन्नुपर्छ भन्ने लागिरहेको थियो त्यो चाँही अझसम्म देखिएन । सदन चल्ने कुरा निधो नै भइसक्यो । दुई चार दिन तलमाथि होला तर चुनाव पछि चल्छ नै । त्यो सदन चलाउने बेलासम्म यो बनाउनुपर्छ भनेर धेरै निर्देशन दियौं । पछिल्लो निर्देशनपछि चाँही अलि प्रगती भएकै छ । उहाँहरुले सदन चलाउने बेलासम्म पूरा गर्छौं भन्नुभएको छ।’