काठमाडौं । श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि आफ्नो मार्गचित्र सार्वजनिक गर्दै श्रममा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ । ललितपुर क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार ऋतुबर्तन राईले लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन प्रणालीमार्फत देशमा स्थायित्व र सुशासन कायम गर्ने लक्ष्य लिइएको बताएका छन् ।
पार्टीले समानुपातिक, समावेशी र धर्मनिरपेक्ष राज्य व्यवस्थालाई सुदृढ बनाउने नीति अघि सारेको छ । ‘अब भाषणको खेती होइन, श्रमको क्रान्ति’ भन्ने नारासहित पार्टीले श्रम संस्कृति महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । पार्टीको मुख्य दर्शन ‘हर्कवाद’ (प्रकृति–संस्कृति–प्रविधि) मा आधारित रहेको उल्लेख गर्दै प्राकृतिक संरक्षण, सांस्कृतिक उन्नयन र प्रविधिको विकासलाई सन्तुलित रूपमा अघि बढाइने जनाएको छ ।
घोषित कार्यक्रमअनुसार प्राकृतिक स्रोतको संरक्षण र परिचालन, सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रवद्र्धन तथा प्रविधिको विकासमार्फत विश्वबजारमा प्रतिस्पर्धा गर्ने रणनीति तय गरिएको छ । पार्टीले अनिवार्य श्रम तथा श्रमदानलाई चेतनागत, आर्थिक र मानवीय विकासको आधारका रूपमा अघि सारेको छ । साथै सामाजिक जागरण, सकारात्मक मनोविज्ञान र जनसंख्यालाई जनशक्तिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । आर्थिक क्षेत्रमा स्वाधीन अर्थतन्त्र र नियन्त्रित बजार प्रणाली अवलम्बन गर्ने, श्रममा आधारित विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने नीति पार्टीले सार्वजनिक गरेको छ । शिक्षा क्षेत्रमा जीवनोपयोगी शिक्षामा जोड दिँदै सैद्धान्तिक शिक्षालाई सीमित गरी उत्पादन, निर्माण र आविष्कारमुखी शैक्षिक क्रान्ति ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
‘एक गाउँ एक उद्योग, एक व्यक्ति एक उद्यम’ अवधारणाअनुसार उद्यमशीलता विकास गर्ने, कला, साहित्य र खेलकुदलाई औद्योगिकीकरणतर्फ उन्मुख गराउने तथा किसान, मजदुर र कलकारखानामैत्री सरकार गठन गर्ने पार्टीको लक्ष्य छ । कानुनी, सामाजिक र सांस्कृतिक न्याय सुनिश्चित गर्दै विदेशी हस्तक्षेपमुक्त सुशासन र विकासमा जोड दिइने जनाइएको छ । राष्ट्रिय एकता, स्वाभिमान र स्वाधीनता सहितको समृद्धिलाई प्राथमिकतामा राखेको पार्टीले आफ्नो चुनाव चिन्ह ‘माटो’ मा मतदान गर्न आह्वान गरेको छ । ‘हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश–श्रम गरौं सबै मिली बनाऔं यो देश’ भन्ने मूल नारासहित श्रम संस्कृति पार्टी चुनावी मैदानमा उत्रिएको छ ।