चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए ।
शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो ।
उनले भने, ‘एउटा समस्या रहेछ चितवनमा । जहाँ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको देखिन्छ । त्यसमा किसानले बजार नपाउँदा र सहि मूल्य नपाउँदा यस्तो अवस्थाको सामना गरिरहनु भएको छ । केही सिमित विचौलिया, सिमित नेताहरुको सिण्डिकेटले गर्दा यस्तो भइरहेको हो । यस्तो भ्रम रोक्न जरुरी छ । नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन समयका तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने महंगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ । किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा किन्न सक्छ, त्यो गर्न चाहन्छौं हामी ।’
उनले देशभरका समस्याहरू धेरै हदसम्म उस्तै प्रकृतिका रहेको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । ‘एउटा जिल्लाको समस्या अर्को जिल्लामा समाधान हुन सक्छ, त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने । शाहले मुलुकको औद्योगिक अवस्था उल्लेख गर्दै देश अहिले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि सञ्चालनमा नआएको कारखाना जस्तो भएको टिप्पणी गरे । उद्योग–कलकारखाना पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । रास्वपा देशभर उद्योग सञ्चालन र उत्पादन विस्तार गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्न चाहेको उनले स्पष्ट पारे ।