रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९, चित्लाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएकोमा बिहान १ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।