काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा.तोसिमा कार्कीले अब बन्ने सरकारले प्राथमिकताका साथ पूरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरता ः नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन सम्भव नहुने भन्दै आवश्यक संशोधन गर्ने आश्वासन दिएकी हुन् ।
उनले भनिन्, ‘आज भन्दा ४७ वर्ष पूरानो औषधि ऐन बोकेर आजको समयसापेक्षित मेडिकल उपचार हामी दिन सक्छौं भन्ने ग्यारेन्टी सरकारले गर्न सक्दैन । त्यसैले अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन गर्छ ।’स्वास्थ्य क्षेत्रका साधारण कुराहरु पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेल रहेको उनको भनाइ छ । रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्ने उनको दाबी छ ।
‘स्वास्थ्य क्षेत्रका साधारण कुराहरु पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेलले हो । जब नेतृत्व नैतिकताको बलमा इच्छा शक्ति बोकेर सेवामा लाग्छ तब यो सबै समस्या समाधान हुन्छ । अब बन्ने रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्छ’ उनले भनिन् ।
कार्कीले औषधिमा आत्मनिर्भरता केवल व्यवसायिक विषय मात्र नभई नागरिकको सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा भएको बताइन् । प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्न पाउनुपर्ने भन्दै यसको सुनिश्चितता राज्यले गर्नुपर्ने उनले जोड दिइन् ।
उनले भनिन्,‘औषधिमा आत्मनिर्भरता भन्ने विषय एउटा व्यवसायिक पाटो मात्र होइन् । यो नागरिकको सुरक्षासँग जोडिएको विषय हो । प्रत्येक नागरिकले सुलभ ,सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्नुपर्छ । यसको सुनिश्चितता राज्यले गर्नुपर्छ । संवेदनशील पाटो भएकाले यसलाई व्यापार व्यवसायको रुपमा मात्र राज्यका निकायले हेर्ने छुट छैन ।’उनको अनुसार औषधि उत्पादन गर्दा मात्र गुणस्तर परीक्षण गरेर पुग्दैन, बिरामीले सेवन गर्ने अवस्थासम्म त्यसको गुणस्तर कायम छ वा छैन भन्ने विषयमा पनि निगरानी आवश्यक हुन्छ ।
औषधिको भण्डारण (स्टोरेज)देखि वितरणसम्मका सबै प्रक्रियामा गुणस्तर परीक्षण र प्रभावकारी नियमन आवश्यक रहेको उनले उल्लेख गरिन् ।