विराटनगर । धरानमा पार्किङमा राखिएका बसमा आगजनी हुँदा तीनवटामा पूर्ण र तीनवटा बसमा आंशिक क्षति पुगेको छ । सुनसरीको धरान–८ मा मंगलबार राति अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगजनी भएको हो ।
आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।
प्रहरीका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।
को.१ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको बतान्छ ।