काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन (भोली) फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
हाम्रो एकता, समृद्धिको आधार भन्ने नारासहित आयोजना हुने सम्मेलनको उद्घाटन (भोली) फागुन ३० बिहान ९ बजे हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
सम्मेलनअन्तर्गत संघको नयाँ नेतृत्व चयनका लागि फागुन ३० गते साँझदेखि चैत १ गते साँझसम्म निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन दुवै माध्यमबाट हाइब्रिड मोडेलमा हुने बताइएको छ । यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट मतदानमा सहभागी हुनेछन् । यद्यपि नेतृत्व चयनका लागि सर्वसम्मतिको पहल पनि जारी रहेको आयोजकले जनाएको छ ।
सम्मेलनको समापन चैत २ गते साँझ ५ बजे प्रधानमन्त्रीको उपस्थितिमा हुने कार्यक्रम रहेको छ ।
सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९२ देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गरिसकेको छ । यस अभियानले विश्वभर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने र नेपालको समृद्धिमा योगदान पु¥याउने उद्देश्य राख्दै आएको छ ।
आयोजकका अनुसार सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकका संविधान प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा विभिन्न सत्रमार्फत छलफल गरिनेछ ।
नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएन अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने बताइएको छ ।
सम्मेलन सफल बनाउन आयोजकले सम्पूर्ण गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि तथा सञ्चारकर्मीहरूलाई सहयोगका लागि अपिल गरेको छ ।