काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको यस आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । स्थानीयतर्फ ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ । त्यस्तै, ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ । दुवैतर्फका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १५ देखि चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको हो । कम्पनी हाल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.५६ रुपैयाँ रहेको छ ।