विराटनगर । विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल)का सञ्चालक विजय बरालले गतवर्ष चार हजार ५०० प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गरेका थिए । उनीसहितको समूहले स्थानीय अनि अर्गानिक खाद्यवस्तुको व्यापार गर्दछन् । त्यसमा तोरी, कोदो, फापर, गहुँ, बेसार जस्ता वस्तु पर्दछन् । गतवर्ष कच्चा तोरी खरिद गरेर आफ्नै मिलमा पेलेपछि ४०० रुपिँया प्रतिलिटर बिक्री गरिएको थियो । मोरङ, सुनसरी, झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेको बराल बताउँछन् । त्यस बाहेक चितवन र कैलालीसम्म पनि तोरीको
जोहो गर्न बुझिरहेको बताउँछन् ।
तर, यो वर्ष भने कच्चा तोरी अभाव छ । कच्चा तोरी खरिद गर्दा पनि ६ हजार ५०० प्रतिमन मूल्य किसानको खेतमै बुझाउनु परिरहेको छ । कच्चा तोरी विराटनगरमा बिक्री गर्दा सात हजार प्रतिमन पुग्नसक्ने संभावना बढ्दै गएको छ । बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्याउने ढुवानीको खर्च समेत जोड्दा अब यसपछिको तोरीको मूल्य अझै बढाउनुपर्ने हुनसक्छ । अहिलेसम्म भने तोरी ६ हजार ५०० मा नै बिक्री गरिरहेको उनले सुनाए । पन्ध्रदिन अगाडीसम्म तोरी पाँच हजार ७०० प्रतिमन किसानको खेतमा बिक्री भइरहेको थियो ।
मध्यपूर्व तनावका कारण अहिले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा समेत कच्चा तोरी प्रशस्त छैन । त्यस बाहेक स्थानीयस्तरमा समेत तोरीका लागि मौसम अनुकुल भइदिएन । तोरी छर्ने बेला मंसिरमा भारी वर्षा भइदियो । त्यसबेला तोरी छरिसकिएको पनि थियो । त्यसपछि पानी परेन । तोरी गुणस्तरको फसल छैन । जति फल्छ त्यसमा पनि अहिले खरिद बिक्रीको होडबाजी चलिरहेको छ । कारण हो, मध्यपूर्व तनाव ।
खानेतेलमा झण्डै प्रतिलिटर १५ रुपिँया मूल्य बृद्धि भइसकेको छ । बागमती आयलका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य देवकीनन्दन अग्रवालका अनुसार अहिले सुर्यमुखी तेलमा प्रतिलिटर २५ रुपिँया बृद्धि भएर २७५ उत्पादन मूल्य पुगेको छ । यसैगरी सोयाबीनमा १५ रुपिँया बृद्धि भएर २६५ र तोरी तेलमा १५ रुपिँया बृद्धि भएर २८८ उत्पादन मूल्य पुगेको छ । यो थोक मूल्य हो । यसपछि खुद्रा मूल्यमा ढुवानी खर्चसहित उपभोक्ताले बुझाउनु पर्ने हुन्छ । त्यसो हुँदा दुरीका आधारमा तीनसय प्रतिलिटर नजिक खानेतेलको मूल्य पुगेको छ ।
इरानसित अमेरिका–इजरायलको युद्धले अन्तराष्ट्रि बजारमा कच्चा तेलकोे मूल्यवृद्धि भएको हो । कच्चातेलका निर्यातकर्ताले आयातकर्ताको अर्डर लिन छाडेको उद्योगीहरुको गुनासो छ । अर्को पक्ष भनेको लोडिङ र सिपमेन्ट गर्न समेत समस्या परिरहेको छ ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शारडाका अनुसार मध्यपूर्वको मुख्य सामुद्रिक मार्ग स्ट्रेट अफ हर्मुजको अवरोधले नेपालका धेरै उद्योगमा समस्या देखिएको छ । जसबाट कच्चातेलको मूल्य, आपूर्ति र ढुवानीमा असर बढ्दो भने प्याकेजिङ्गका उद्योगले कच्चा पाउने स्थिति कमजोर बन्दै गइरहेको छ । उद्योगी शारडाका अनुसार खासमा नेपाल आउने सामान सामुद्रिक मार्ग स्वेज क्यानलबाट ढुवानी हुन्छ । स्ट्रेट अफ हर्मुज ठप्प भएपछि स्वेज क्यानलमा मालवहाक जहाजको ट्राफिकिङ्गले समस्या बढिरहेको हो । हर्मुजबाट स्वेजमा मालवहाक जहाजको रुट बदलिएको छ ।