नयाँ घर निर्माणकर्तालाई लक्षित गर्दै विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’

<span class='c1'>नयाँ घर निर्माणकर्तालाई लक्षित गर्दै</span> <span class='c2'>विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’</span>

विराटनगर । नयाँ घर निर्माणकर्ता र पुरानो घरको संरक्षण चाहनेहरुका लागि विराटनगरमा आगामी चैत १२ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी’ आयोजना गरिने भएको छ । जैन भवनमा आयोजना हुने यो प्रदर्शनीमा घर निर्माण गर्दा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, त्यससँग सम्बन्धित सेवा र संरक्षणसँग सम्बन्धित ज्ञान प्राप्त हुनेछ । उद्योग संगठन मोरङले जैन भवनमा घर निर्माणसँग सम्बन्धित ७५ स्टलमा सामाग्री तथा सेवा राखेर उपभोक्तालाई ज्ञान र सीप बारे जानकारी दिने भएको हो । काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरमा यो कार्यक्रम राखिएको हो । घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री र यसको प्राविधिक ज्ञान तथा सीप बारे जानकारी समेत त्यहाँ दिइनेछ ।

नेपाली निर्माण सामाग्री तथा सेवाहरुको प्रवद्र्धन, स्वेदशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि तथा आयात प्रतिस्थापन गर्ने मुख्य उद्देश्य राखिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो घर निर्माणको ‘ईकोसिस्टम’ उपभोक्तालाई बुझाउने अभियान हो । जसले एउटा निश्चित क्षेत्रको पूर्वाधार निर्माणमा कति उद्योगका उत्पादन प्रयोग हुन्छन् भन्ने ज्ञान उपभोक्तालाई दिनेछ । जसबाट उपभोक्ताले घर निर्माण गर्दा चाहिने सामाग्री बारे पूर्व जानकारी राख्नेछन् ।

प्रदर्शनी आयोजक समितिका संयोजक सुरेन्द्र गोल्छाका अनुसार आठ प्रकारका औद्योगिक उत्पादनको ‘चेन कनेक्सन’ स्थलमा राखिने छ । जसबाट उपभोक्ताले घर बनाउँदा के–के वस्तु चाहिने र के–के कार्य गर्नुपर्ने भनेर सहजै बुझ्न सक्नेछन् ।
संयोजक गोल्छाका अनुसार घर निर्माणको योजना र डिजाइन, घर निर्माण गर्ने मुख्य सामाग्री, स्यानिटरी र प्लम्बिङ्ग सामाग्री, बिजुली र उर्जा सामाग्री, फर्निघर र घरका सामान, इन्टेरियर डिजाइन र सजावट, नयाँ प्रविधि र नवप्रवर्तन तथा फाइनान्स र बीमा सेवा प्रदर्शनीका मुख्य आकर्षक हुनेछन् । यसमा निर्माण मूल्य श्रृंखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति निर्माता र उपभोक्ता एउटै छानामुनी सेवा तथा अनुभव लिने अवसर सिर्जना गरिने दावी छ ।

त्यस बाहेक चारवटा विषयमा थिमेटीक राखिएको छ । जसमा सुरक्षित र सहि निर्माण : मापदण्ड, गुणस्तरिय सामाग्री तथा जोखिम न्युनिकरण छ । यसभित्र घर निर्माण तथा भूकम्पिय सुरक्षा मापदण्ड, बिद्युतीय सुरक्षा र उर्जा दक्षता, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यास र निर्माण सामाग्रीको गुणस्तर कसरी जाँच्ने विषय सेशनमा समेटिने छन् । दोस्रो स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर र प्राविधिक योजना रहेको छ । यसभित्र आधुनिक घरका लागि वास्तु : आधारभूत सिद्धान्त र प्रयोग, इन्टेरियर डिजाइन अवधारणा, स्पेस प्लानिङ उपभोगिता र सौन्दर्य रहेको छ । तेस्रोमा स्मार्ट घर र आधुनिक जीवनशैली रहेको छ । यसमा घर अटोमेशन तथा आधुनिक जीवनशैली : सुरक्षा, सुविधा र नियन्त्रणका बारेमा जानकारी गराइने छ । यसैगरी चौंथोमा मर्मत सम्हार तथा ट्रिटमेन्ट : संरक्षण, मर्मत र भवन आयु बृद्धिको विषयमा सेसन सञ्चालन हुने जानकारी दिइएको छ । यो अन्तर्गत छत चुहिने समस्या–कारण तथा समाधान, धमिरा नियन्त्रण : रोकथाम, दिर्घकालिन नियन्त्रण तथा सुरक्षाका लागि रेट्रोफिटिङ्ग : पुराना भवन सुदृढिकरण बारे सेसन सञ्चालन गरिने संयोजक गोल्छाले जानकारी दिएका छन् ।

घर निर्माण प्रदर्शनी आयोजना बारे उद्योग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । प्रदर्शनी आयोजनाका लागि ४० लाख खर्च हुने अनुमान गरिएको छ । यसमा लक्षित क्षेत्र अन्तर्गत इन्जिनियर, निर्माण व्यवसायी, मजदुर तथा कामदार, उत्पादक उद्योग, उत्पादन बिक्री गर्ने व्यापारी तथा उपभोग गर्ने उपभोक्ता समेतले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्