चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । बालमनोविज्ञान समेटिएको ट्रेलरमा बाबुआमाले बच्चाको इच्छा नबुझ्दाको समस्या चित्रण छ । छोराले राम्रोसँग पढेर छात्रवृत्ति पाउन सकोस् र गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना व्यक्त ट्रेलरमा छोराको रुचि भने अर्कैतिर रहँदा स्कुलको पढाई सोचेजस्तो नहुने यथार्थ देखाइएको छ ।
गरिब भएकै कारण आम नेपाली बालबालिका कसरी पढाइबाट बञ्चित भइरहेका छन् भन्ने यथार्थ चित्रण गरेको ट्रेलरले पहिलो हुनेलाई मात्र समाजले दिने इज्जतका कारण तनाव झेल्ने अभिभावक र विद्यार्थीको कथा देखाएको छ ।
गलत शैक्षिक मूल्यांकन विधिले दिने तनाव र प्राविधिक शिक्षा/सिपमा पारिरहेको अवरोधको कथा ट्रेलरले देखाएको छ । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
https://youtu.be/leTb_e4kR60?si=xE9tvI2ZdxbeRFoD