एउटा सञ्चारमाध्यमको वास्तविक परिचय समाचार बनाउनु र प्रकाशन गर्नुमात्रै हुँदैन । यो समाजसँग जोडिएको हुनाले नागरिकको दैनिक जीवनसँग सञ्चारमाध्यम समिप हुनुले उसको जिम्मेवारी पूरा भएको ठहर्छ । नागरिकको दैनिक जीवनसँग जोडिएका विषयलाई कति जिम्मेवारीपूर्वक उठायो भन्नेबाट नै सञ्चारमाध्यको पहिचान निर्धारण हुन्छ। यिनै विचारसँग नजिक भएर आवर विराटनगर १६ औं वर्षको यात्रातर्फ बढ्दैछ । नागरिकसँग समिप रहेका कारण निरन्तरता, विश्वास र जिम्मेवारीले १६ औं वार्षिकउत्सवलाई अर्को नयाँ अध्याय ठानेका छौं ।
पन्ध्रवर्ष अगाडी अनलाइन पत्रकारिताको प्रारम्भकाल थियो । त्यसबेला सामाजिक सञ्जाललाई प्रयोग गरेर नागरिकका स्थानीय मुद्दामा केन्द्रीत हुँदै यसले जग बसालेको हो । स्थानीय पत्रकारिताको मूल्य र नागरिक सरोकारलाई केन्द्रमा राख्ने प्रयास निरन्तर रहेका कारण राष्ट्रिय राजनीति वा ठूला घटनाको भीडमा हराउने हतारो आवर विराटनगरलाई कहिल्यै रहेछ । स्थानीय सरकारसँग नागरिकका अपेक्षा साना–ठूला समस्या, जनप्रतिनिधिको काम, सेवाप्रवाहका कमजोरी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, सामाजिक गतिविधि र नागरिकका दैनिक भोगाइलाई समाचार सामाग्रीको रुपमा प्राथमिकतामा दिनु यसको विशेषता बनेको छ। अनि अझै बनिरहनेछ ।
पत्रकारिताको प्रभाव त्यसबेला देखिन्छ, जब एउटा समाचारले कुनै सडक मर्मत गराउँछ, सेवाग्राहीको समस्या समाधान गराउँछ, कुनै विद्यालय वा स्वास्थ्य संस्थाको बेथिति उजागर गर्छ, वा जिम्मेवार निकायलाई जवाफदेही बनाउँछ। आवर विराटनगर यस्ता अनेकौं विषयलाई निरन्तर उठाएर स्थानीय पत्रकारिताको सार्थकता प्रमाणित गर्ने प्रयासरत छ । पाठकको विश्वास, समाचार स्रोतको सहयोग र पत्रकारहरूको समर्पण सबैभन्दा ठूलो शक्ति बन्दै आएको छ । प्रविधिको तिव्रतर विकास र बदलिएको समाजसँगै त्यहि समाजका पाठकको अपेक्षा बदलिँदो छ । त्यसैले विगतका उपलब्धिमा मात्र सन्तुष्ट हुने ठाउँ छैन। १६औँ वर्षमा प्रवेशसँगै आवर विराटनगरले आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गर्ने प्रण लिएको छ । पत्रकारितामा सबैभन्दा ठूलो चुनौती विश्वसनीयताको संरक्षण हो। सामाजिक सञ्जालको तीव्र प्रतिस्पर्धा र अपुष्ट सूचनाको हतारोले तथ्यलाई समय अगाडी नै बङ्ग्याउने चुनौती बढ्दो छ । हामील विश्वसनियतामा आधारित, सन्तुलित र प्रमाणित पत्रकारिता नै पूँजी मानेका छौं । हामी समाचार बिस्तारै पस्कँछौं तर पकिस्एको सामाग्री साँचो हुनुपर्छ भन्ने मान्यतामा दृढ छौं । यसमा अडिरहने छौं ।
डिजिटल पत्रकारिताको युगमा मल्टिमिडिया सामग्री, तथ्याङ्कमा आधारित प्रस्तुति, भिडियो रिपोर्ट, डेटा पत्रकारिता र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ माध्यमहरूको प्रभावकारी प्रयोग पनि अपरिहार्य भइसकेको छ। त्यससँगै गलत सूचना र दुष्प्रचारविरुद्ध तथ्य परीक्षणलाई नियमित अभ्यास बनाउनु आवश्यक ठानेका छौं । आवर विराटनगरको यात्रा १६औँ वर्षमा प्रवेश गर्नुमा पाठक, शुभेच्छुक, विज्ञापनदाता, समाचार स्रोत र समर्पित पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।