विराटनगर । बाहिर सिमसिम पानी परिरहेको थियो। असार १५ को दिन, दही–चिउरा खाने रमाइलो माहोलबीच नेपाल पत्रकार महासंघ मोरङ शाखाको पहिलो तलामा केही उत्साही युवाहरू एउटा सपना बोकेर भेला भएका थिए। त्यही दिन रोपिएको एउटा सानो बीउ आज विशाल वृक्ष बनेर आवर विराटनगर आफ्नो १६ औँ वर्षमा प्रवेश गरेको छ ।
आजभन्दा १५ वर्षअघि डिजिटल पत्रकारिता नेपालमा भर्खरै विस्तार हुँदै थियो। अनलाइन सञ्चारमाध्यमको यात्रा सुरुआती चरणमा थियो। त्यही परिवेशमा स्थानीय समाचार, जनजीवनका मुद्दा र आम नागरिकका आवाजलाई डिजिटल माध्यमबाट विश्वसामु पुर्याउने उद्देश्यका साथ आवर विराटनगरको जन्म भएको थियो। सुरुका दिन सहज थिएनन्। सीमित स्रोत, सीमित साधन र ठूलो सपना मात्र थियो। प्रारम्भमा फेसबुकमार्फत सूचना र समाचार प्रवाह गर्दै यात्रा सुरु भयो। समयसँगै त्यसले व्यवस्थित अनलाइन समाचार पोर्टलको रूप लियो। तत्कालीन सुरेश कार्की, सरोज कार्की, प्रेम देवान लगायतको सानो टोलीले सुरु गरेको अभियानले निरन्तर संघर्ष, मेहनत र समर्पणका साथ आफ्नो पहिचान बनाउँदै गयो। एउटा बिरुवा हुर्कन वर्षौं लागेझैँ आवर विराटनगरलाई पनि यो उचाइसम्म आइपुग्न अनेकौँ चुनौती पार गर्नुपर्यो। आर्थिक अभाव, प्राविधिक कठिनाइ, प्रतिस्पर्धा र विभिन्न उतारचढावका बीच पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारिताबाट कहिल्यै विचलित भएन। प्रत्येक ठक्करलाई सिकाइका रूपमा ग्रहण गर्दै, प्रत्येक कठिनाइलाई अवसरमा बदल्दै यो संस्था निरन्तर अगाडि बढिरह्यो। समयसँगै विवेक दाहाल, सरोज लम्साल, गोकुल कार्की, जाकिर राजा लगायतका ऊर्जाशील व्यक्तिहरू टोलीमा जोडिनुभयो । त्यसपछि आवर विराटनगरलाई अझ व्यावसायिक, व्यवस्थित र आधुनिक ढंगले सञ्चालन गर्ने अभियान सुरु भयो। सानो समूहबाट सुरु भएको यो यात्रा ६ जनामा एकिकृत हुँदै १८ सदस्यीय समर्पित टिममा रूपान्तरण भएको छ।
आवर विराटनगरले सधैं ठूला समाचार मात्र होइन, आम नागरिकका दैनिक जीवनसँग जोडिएका साना–साना समस्यालाई पनि प्राथमिकताका साथ उठाउँदै आएको छ । जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउने, पीडितको पक्षमा उभिने, सकारात्मक परिवर्तनका लागि खबरदारी गर्ने र समाजका प्रेरणादायी कथालाई उजागर गराएर आफ्नो दायित्वलाई निरन्तर निभाउँदै आएको छ । यही कारण आज लाखौं पाठकको विश्वास जित्न सफल भएको छ । आज आवर विराटनगरको डिजिटल परिवार ६ लाखभन्दा बढी फलोअर्सको साथमा उभिएको छ। यो संख्या केवल सामाजिक सञ्जालको तथ्यांक मात्र होइन, जनविश्वास, माया र अपनत्वको प्रतीक पनि हो। प्रत्येक समाचार पढ्ने पाठक, विज्ञापनमार्फत साथ दिने व्यवसायी, सुझाव दिने शुभेच्छुक, आलोचना गरेर सुधारको बाटो देखाउने सबैप्रति हामी हृदयदेखि नै कृतज्ञ छौँ। पत्रकारिता केवल समाचार लेख्ने पेसा मात्रै होइन, समाजप्रतिको जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई केन्द्रमा राख्दै आवर विराटनगरले विगत १५ वर्षमा निष्पक्ष, विश्वसनीय र उत्तरदायी पत्रकारिताको अभ्यासलाई निरन्तरता दिएको छ। आगामी दिनमा पनि सत्य, तथ्य र जनपक्षीय पत्रकारितालाई अझ सशक्त बनाउँदै समाज रूपान्तरणको अभियानमा अग्रसर रहने हाम्रो प्रतिबद्धता छ।
१६ औँ वर्षमा प्रवेश गर्नु केवल उत्सव होइन, अझ बढी जिम्मेवारी बोध गर्ने अवसर पनि हो। यस यात्रामा हामीसँग हातेमालो गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, स्रोत व्यक्ति, सहकर्मी पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको यही विश्वास, माया र साथ नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यही साथ र समर्थनले आगामी दिनमा पनि आवर विराटनगरलाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौँ । १६ औँ वर्ष प्रवेशको यस ऐतिहासिक अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा सहयोगीहरूमा हार्दिक शुभकामना तथा धन्यवाद । समाचार मात्र होइन, समाजको भरोसा बन्ने हाम्रो यात्रा निरन्तर रहनेछ ।