यसरी खोज्दैछ प्रहरीले अभिषेक गिरीको कालोधन

<span class='c1'>यसरी खोज्दैछ प्रहरीले</span> <span class='c2'>अभिषेक गिरीको कालोधन</span>

विराटनगर । मोरङ कारागार, विराटनगरमा कैदीबन्दीलाई वितरण गर्नुपर्ने भत्ता असुलेको आरोपमा पक्राउ परेका अभिषेक गिरी विरुद्ध सम्पति सुद्धिकरण अनुसन्धान समेत प्रहरीले सुरु गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरेर २०७९ चैत ५ गते छुटेका गिरी कारागार बाहिरै बसेर त्यहाँ भित्र आफ्नो असुलीधन्दा चलाइरहेका थिए । जुन उनी कारागारमा हुँदा समेत गर्ने गर्दथे ।
मोरङ प्रहरीले शनिबार उनलाई घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार उनले कैदीबन्दीलाई बाँडेको १३ लाख ४० हजार रुपैँया असुलेको आरोप छ । मोरङ प्रहरीले उनी र उनको परिवार समेतको नाममा रहेको चलअचल सम्पतिको विवरण यकिन गर्न विभिन्न निकायमा पत्राचार सुरु गरेको हो । त्यति मात्रै नभई उनले सामाजिक कार्य गर्न भन्दै स्थापना गरेको गिरी फाउण्डेशनसँग जोडिएका व्यक्तिको समेत निगरानी सुरु गरेको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार अहिले तीनै तहका सरकार मातहत रहेका सहकारीको नियम गर्ने निकायसँग उनको नाममा कारोबार भएनभएको विवरण, बीमा, बैंक तथा वित्तीय संस्थाको कारोबार विवरण, कम्पनी रजिष्टार र घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत उनको नाममा उद्योगधन्दा दर्ता भएनभएको सोको विवरण, नेपाल स्टकएक्सचेन्जसँग शेयर कारोबारको विवरण र सम्पति शुद्धीकरण अनुसन्धान विभागसँग भएको उनको पुरानो विवरण समेत माग गरिएको छ । सम्पति शुद्धीकरणमा गिरीलाई २०६९\०७० मा मुद्दा चलेको थियो ।

गिरी सधैं काँग्रेसको सत्ता र शक्ति प्रयोग गरेर मोरङ कारागारमा आउन चाहन्थे । कारागारमा हुँदा बाहिरका उद्योगी–व्यापारीलाई समेत धम्क्याएर रकम असुली गर्ने गरेको आरोप थियो । उद्योगी–व्यवसायीले सुरक्षा नभएको गुनासो गरेपनि उजुरी गर्न सक्दैनन् थिए । त्यस बाहेक कारागार भित्र उनको असुली चरम रहेको आरोप थियो । उनलाई कारागारमा ल्याउने र नल्याउने विषयमा बारम्बार हुने झडपमा सधैं तनावको स्थिति सिर्जना हुने गरेको थियो ।

कारागारबाट बाहिर निस्केपछि उनी सामाजिक सेवामा लाग्ने बताउँदै आएका थिए । त्यसैले उनी गिरी फाउण्डेन खोलेर त्यसका नाममा चन्दा उठाउने अनि केहि सामाग्री वितरण गर्दै प्रहरीको बुझाई छ ।  त्यस बाहेक मोरङ कारागारमा आवश्यक पर्ने तरकारीदेखि सरसामानका ठेक्कापट्टामा उनको भूमिका रहेको  छ । कैदीबन्दीलाई दिनुपर्ने भत्ता समेत उनकै समूहले असुल्ने गरेको पछिल्लो घटना बाहिरिएपछि गिरीको देखावटी सामाजिक सेवा अझै उदाङ्गो बनेको छ ।

कारागार प्रशासनले गर्मी भत्ताको रुपमा दुई हजार ५०० का दरले कैदीबन्दीलाई बुधबारदेखि शुक्रबार वितरण गरेको थियो । उक्त रकम कारागार भित्रकै सहयोगी कर्मचारी, आपूर्तिकर्ता र उनका सहयोगीमार्फत गिरीले असुलेको आरोप छ । उनले कारागार मोरङका सहयोगी शिवचरण यादव, कारागारमा तरकारी आपूर्ति गर्दै आएका विजय कामत र गिरीका सहयोगी दिपक कार्कीमार्फत कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार असुलेको आरोप छ । कारागारको ब्लक बीका ५५६ जना कैदीबन्दीले पाउने भत्ता गिरीले असुलेको भन्दै त्यहिं भित्रबाटै सूचना प्रहरीसम्म पुगेको हो ।

प्रहरीले गुनासोका आधारमा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिएपछि गिरीले सरकारले फसाउने योजना बनाएको अभिव्यक्ति दिएका थिए । जुन विषय गृहमन्त्रालयमा समेत छलफल भएको बुझिएको छ । अहिले प्रहरीले सबै हिसाबले अनुसन्धानलाई सुक्ष्म बनाउने र पहिल्यैदेखि अपराधकर्ममा संलग्न उनको सबै क्षेत्रको यकिन गर्ने तयारी गरेको हो । उनीमाथि कारागारभित्र कैदीबन्दीले मुढा तथा गलैंचा उत्पादन गरेर बिक्री गरेको पैसा समेत लाने गरेको, सरकारले कैदीबन्दीलाई दिने सुविधा समेत खोस्ने गरेको आरोप छ ।
मोरङ प्रहरीका प्रवक्ता मिश्रका अनुसार उनी विरुद्ध अपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भइरहेको छ । आइतबार उनी विरुद्ध पाँचदिनको म्याद थप गरिएको छ । उनले वितगदेखि नै चलाउँदै आएको कारागार साम्राज्य अहिले पनि आफ्नै निकटका व्यक्तिलाई चौकीदारमार्फत गरिरहेको पाइएको छ ।

प्रहरीले यसरी खोज्दैछ सम्पति
अवैध रुपमा कमाएको कालो धनलाई वित्तीय प्रणाली (बैंक, बीमा, वा व्यवसाय) मा प्रवेश कसरी भइरहेको छ । स्रोत लुकाउन र अनुसन्धानबाट बच्न विभिन्न बैंक खाता वा देशहरुमा पटक पटक रकमको कारोबार गर्ने प्रक्रिया कस्तो छ र घुमाइएको वा शुद्ध पारिएको रकमलाई घरजग्गा, गाडी, व्यवसाय वा सामाजिक अभियानमा लगानी गरेर कानुनी कसरी बनाउने गरिएको छ भन्ने विषय अनुसन्धानको पाटो बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्