विराटनगर । मोरङ प्रहरीले अभिषेक गिरीका आफन्त विराटनगर–१ भट्टाचौकस्थित घरमा आइतबार खानतलासी लिएको छ । गिरीका साढुभाई लक्ष्मी प्रसाँइको घरमा दिउँसो खानतलासी लिएर केहि कागजात बरामद गरिएको हो ।
मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार अनुसन्धानका क्रममा केहि प्रमाणहरु संकलन गर्ने उद्देश्यले खानतलासी लिएको हो । गिरी विरुद्ध ठगी तथा अपराधिक विश्वास घातगरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीले असार १३ गते उनकै घरबाट गिरीलाई नियन्त्रणमा लिएको थियो ।
कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ परेका उनी थुनामुक्त गर्न जिल्ला अदालत मोरङले असार २२ गते आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । गिरी पुरानै गुण्डाराज चलाउने व्यक्ति मानिन्छन् ।
उनको यो यात्रा २०५८ बाट सुरु भएको हो । २०६० को दशकतिर विराटनगरमा उनको डरत्रास थियो । थाइल्यान्डको नम्बरबाट तारन्तार फिरौती रकमको माग गर्दै फोन गरेर उनले अपराध सुरु गरेका थिए । त्यसरी मागिएको फिरौती रकम नबुझाए वा प्रहरीमा उजुरी दिएमा गोली हानी हत्या गर्ने धम्की दिन्थे । विशेषगरेर फिरौती रकम माग्नेहरूको तारोमा ठूला निर्माण व्यवसायी र उद्योगीहरू थिए ।
नेपालमै उनीहरूले भनेका व्यक्तिलाई फिरौती रकम बुझाउन बाध्य हुन्थे, व्यवसायीहरू । बिस्तारै–बिस्तारै रकम बुझाउँदा–बुझाउँदा हैरान हुन थालेपछि व्यवसायीले प्रहरीलाई खबर गर्न थाले ।
त्यसपछि हनुमानढोका प्रहरीको टोलीले अनुसन्धान थाल्यो । थाइल्यान्डको बैंककबाट व्यवसायीलाई धम्क्याउने नम्बरबाट नेपालका कुन–कुन नम्बरहरूसित सम्पर्क हुन्छ भनीे अनुसन्धान थाल्यो । नेपालका नम्बर केलाउँदै जाँदा प्रहरीले अभिषेक गिरीकी श्रीमतीको नाममा रहेको नम्बरसँग सम्पर्क भएको खुलेको थियो ।
त्यसपछि प्रहरीले अभिषेक गिरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । सँगै विराटनगर महानगरपालिका–८, मधुमाराका अभिषेक गिरी आपराधिक दुनियाँमा कुख्याति कमाउँदै थिए । उनी २०५८ देखि नै पक्राउ पर्दै छुट्दै आएका थिए । अपहरण तथा बन्धकमा नौ वर्ष लामो जेल जीवन भुक्तान गरेर दुई वर्षअघि मात्रै छुटेका गिरी प्रहरी थुनामा पुगेपछि अहिले का छन् । अभिषेकमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान अघि बढाएको छ ।
त्यसपछि सीआईबीले असार २२ गते काठमाडौँ लगेको हो । मोरङ प्रहरी र सीआईबी दुवै ठाउँबाट उनीविरुद्ध आपराधिक विश्वासघात र ठगी मुद्दामा उजुरी परेपछि अनुसन्धान भइरहेको छ । नौ वर्ष मोरङ कारागारमा बस्दा उनी चौकीदारसमेत भएका थिए । कैद भुक्तान पूरा गरी छुटे । जेलमा हुँदा पनि कैदी–बन्दीका दैनिक भत्ता असुल गरेको गुनासो थियो । मोरङ प्रहरीले अभिषेकमाथिको अनुसन्धान अझै जारी राखेको छ । यहि सिलसिलामा प्रहरीले प्रसाँईको घरमा छापा हानेको हो । सीआईबीले अभिषेकमाथि निर्माण व्यवसायी सुवास श्रेष्ठलाई पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो ।
प्रहरीको क्रिमिनल डाटा सिस्टम (सीडीएस–सीआरएस) को रेकर्ड अनुसार, अभिषेक गिरी पहिलो पटक २०५८ वैशाख १९ मा मोरङबाट पक्राउ परेको देखिन्छ । त्यतिबेला गिरीले दिनेश सुवेदी नामका युवालाई सार्वजनिक स्थानमै कुटपिट गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । हाल ४८ वर्ष हुँदा पनि उनको पक्राउको शृंखला रोकिएको छैन । त्यसयता उनको पक्राउ र छुट्ने शृंखला चल्यो । दोस्रो पटक २०५९ वैशाख १२ गते कुटपिट गरेकै कसुरमा पक्राउ परे । त्यतिबेला अभिषेकले ओमप्रकाश गिरीमाथि कुटपिट गरेको उजुरीको आधारमा मोरङ प्रहरीले नै पक्राउ गरेर मुद्दा चलाएको थियो ।
तेस्रो पटक अभिषेक २०६० कात्तिक ६ गते गस्तीमा गएको प्रहरीमाथि अभद्र व्यवहार गरेको कसुरमा पक्राउ परे । यसको ६ महिनापछि अभिषेक पुनः डाँका चोरीमा पक्राउ परे ।
२०६० चैत १४ गते उनले विराटनगरका व्यवसायी मनोज चौहान र उनका कर्मचारी उमेश देवसमेतलाई कुटपिट गरेर नेपाल टिम्बर उद्योगबाट नगद ६० हजार दुई सय रुपैयाँ लुटपाट गरे । कुटपिट हुँदै ६० सालपछि लुटपाटमा उत्रिएका अभिषेक २०६१ कात्तिक १ गते उनी फेरि डाँका चोरीकै आरोपमा पक्राउ परे । त्यतिबेला अभिषेकसहित ९ जनाको समूहले एउटा घरभित्र प्रवेश गरी ३ लाख नगद तथा ४ लाख ३३ हजार रुपैयाँ बराबरको गरगहना लुटपाट गरेका थिए । त्यसपछि उनी २०६५ असार २४ गते सार्वजनिक कसुर र २०६५ कात्तिक १० गते ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थिए । २०७१ वैशाख ३ गते अभिषेक फेरि सार्वजनिक अपराध कसुरमा पक्राउ परेका थिए ।
केही अपराध कसुरमा उनले अदालतबाटै सफाइ पाए । केहीमा दोषी ठहर भए पनि उनी कैद भुक्तान गरेर छुटेलगत्तै पुनः अपराध कर्ममै जोडिएका थिए । पछिल्लो पटक २०७१ साउन १६ गते ललितपुरबाट शरीर बन्धक तथा अपहरण कसुरमा पक्राउ परेपछि उनको जेल यात्राको बसाइँ लामो भयो । जिल्ला अदालत ललितपुरले शरीर बन्धक कसुरमा उनलाई १० वर्ष कैद सजायको फैसला गरेको थियो ।अभिषेक गिरीको समूहले ललितपुरकी शारदा सिलवाल भन्ने कवितादेवी शाक्यलाई प्रयोग गरेर अच्युत रेग्मीलाई अपहरण गरेर ५ घण्टा राखेका थिए ।
रेग्मीले १० लाख रुपैयाँ फिरौती दिएपछि उनलाई मुक्त गरेका थिए । उक्त अभियोगमा मिलन लिम्बू, राज श्रेष्ठसमेत पक्राउ परेका थिए । अपहरणका मुख्य योजनाकार अभिषेक गिरी थिए । उक्त अभियोगमा जेलमुक्त भएपछि गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । प्रहरीले यी सबै अपराध र अपराधकर्मबाट आर्जन गरेको सम्पति खोजिरहेको छ । त्यहि क्रममा पहिलो पटक प्रहरी सालीको घरसम्म पनि अभिषेक विरुद्धको प्रमाण खोज्न पुगेको हो ।