काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् ।
विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’मार्फत समर्थकप्रति आभार व्यक्त गरेका हुन् । ‘हामी सबैले योग्य ठानेको ट्रफी घर ल्याउन नसकेको पीडासहित पनि यो जर्सी, मेरा सहकर्मी खेलाडी, प्रशिक्षक टोली र सम्पूर्ण टिमप्रति गर्व छ,’ उनले लेखेका छन् । उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई व्यवस्थापक, मेडिकल टोली, खाना बनाउने कर्मचारी, किट व्यवस्थापन गर्ने व्यक्तिसहित सबैको योगदान रहेको उल्लेख गरेका छन् । मार्टिनेजले अर्जेन्टिनाका समर्थकले देखाएको माया, समर्थन र एकताप्रति धन्यवाद दिँदै फाइनलको नतिजाले सम्पूर्ण यात्रालाई मूल्यांकन गर्न नहुने बताएका छन् । ‘हामीले धेरै कठिनाइ सामना ग¥यौं, असम्भव जस्तो देखिएका कुरालाई सम्भव बनायौं र कहिल्यै बहाना खोजेनौं, अघि बढ्ने कारण खोज्यौं,’ उनले भने ।
उनले विश्वकप विजेता स्पेनलाई बधाई दिँदै टोलीले योग्य रूपमा उपाधि जितेको बताए । मार्टिनेजले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गर्व भएको उल्लेख गर्दै समर्थकलाई देशको माया र एकता कायम राख्न आग्रह गरेका छन् । ‘धेरै धेरै धन्यवाद । हाम्रो देशको ख्याल राखौं । म अर्जेन्टिनालाई धेरै माया गर्छु,’ उनले सन्देशको अन्त्यमा लेखेका छन् ।