काठमाडौं । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ । फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ । ‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो ।
हिजो आइतबार पनि चलचित्रको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो । यो चलचित्रले आगामी दिनमा अझै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ । हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ । ‘लालीबजार’ पहिलो स्थानमा छ । ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित देखिएको छ ।