वर्षौंदेखिको डुबान समस्या : जलमग्न हुने त्रासमा विराटनगरवासी–नदीभन्दा होचो बस्ती

<span class='c1'>वर्षौंदेखिको डुबान समस्या : जलमग्न</span> <span class='c2'>हुने त्रासमा विराटनगरवासी–नदीभन्दा होचो बस्ती</span>

सोनु साह
विराटनगर । वर्षायाम सुरु भएसँगै विराटनगरका स्थानीय फेरि डुबानको त्रासमा बाँचिरहेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्या यसवर्ष पनि उस्तै देखिने संकेत देखिएपछि स्थानीयवासी चिन्तित बनेका हुन्। विराटनगरमा दुई घण्टाभन्दा बढी लगातार वर्षा भए अधिकांश सडक तथा बस्ती जलमग्न हुने अवस्था रहँदै आएको छ। हरेक वर्ष दोहोरिने यो समस्याको दीर्घकालीन समाधान हुन नसक्दा स्थानीयले वर्षेनी सास्ती खेप्नुपरेको हो। दुईदिन अगाडीको पानीले नै धेरै वस्तीलाई चुनौती दिएको थियो । तर, १२ घण्टासम्म पानी परेपछि त्यो रोकियो, त्यसले नगरवासीलाई शान्तिको स्वास फेर्न दियो ।

विराटनगरको पूर्वतर्फ सिङ्घिया खोला र पश्चिमतर्फ केशलिया खोला बग्छन्। यी दुई खोला महानगरको मुख्य पानी निकासका माध्यम भएपनि पर्याप्त व्यवस्थापन हुन नसक्दा वर्षाको पानी सहज रूपमा निकास हुन सकेको छैन। महानगरका १९ वडामध्ये विशेषगरी वडा नं. १४, १६, १७ र १८ का बस्ती हरेक वर्ष डुबानको उच्च जोखिममा पर्ने गरेका छन्। सामान्य वर्षामै सडक जलमग्न हुने र घरभित्र पानी पस्ने समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ।

महानगरले विभिन्न स्थानमा नाला निर्माण गरे पनि अधिकांश क्षेत्रमा पानी निकास प्रभावकारी हुन सकेको छैन। नालाको नियमित सरसफाइ नहुनु, कतिपय स्थानमा नालामै विद्युतका पोल निर्माण गरिनु तथा निकास संरचनाको क्षमता कमजोर हुनु डुबानका प्रमुख कारण रहेको स्थानीय बताउँछन्। स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्म यस समस्याबारे जानकार भए पनि प्रभावकारी पहल नदेखिएको उनीहरूको आरोप छ।

यता विराटनगर महानगरपालिकाले भने डुबान समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन सुरु गरेको जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार वर्षा र बाढीजन्य समस्या विराटनगरमा मात्र नभई तराईका अधिकांश सहरमा देखिने साझा चुनौती हो। पहाडी क्षेत्रबाट ठूलो परिमाणमा पानी तराईमा आउने भएकाले पनि समस्या जटिल बन्दै गएको उनले बताए।
उनका अनुसार नाला व्यवस्थापन तथा पानी निकास प्रणाली सुधारका लागि अध्ययन भइरहेको छ। विराटनगरलाई डुबानमुक्त बनाउने उद्देश्यसहित गुरुयोजना तयार भइसकेको र हाल प्रस्तुतिको चरणमा रहेको जानकारी दिँदै उनले तत्काल समस्या पूर्ण रूपमा समाधान गर्न नसकिए पनि सरसफाइ, नाला सफाइ तथा अन्य आवश्यक कार्यलाई तीव्र बनाइएको बताए। महानगरको विपद् व्यवस्थापन समितिको बैठकमा समेत डुबान समस्याबारे विस्तृत छलफल भएको उनको भनाइ छ।

योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार विराटनगरमा डुबान हुनुको मुख्य कारण नाला अभाव मात्र होइन। उनका अनुसार महानगरका धेरै बस्तीको भू–सतह (आरएल लेभल) नजिकका खोला तथा निकास क्षेत्रको सतहभन्दा तल रहेकाले वर्षाको पानी सहज रूपमा बाहिर जान सक्दैन। उनले धेरै बस्ती पहिले खेतीयोग्य जमिनमा विस्तार भएकाले ती क्षेत्र स्वाभाविक रूपमा होचा रहेको बताए। खोलामा पानीको सतह बढ्दा पानी बस्तीभित्र पस्ने र घरहरू डुबानमा पर्ने गरेको उनको भनाइ छ। यस समस्याको दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन भइरहेको उनले जानकारी दिए।

इन्जिनियर श्रेष्ठका अनुसार विगतमा विराटनगरको माथिल्लो क्षेत्र, विशेषगरी वडा नं. १ तर्फको पानी सहज रूपमा निकास हुन्छ । तर, राजमार्ग निर्माणका क्रममा सडकको सतह उचालिँदा वडा नम्बर ३ सबैभन्दा धेरै मारमा पर्दै आएको छ । हुन त वडा नम्बर १ को पनि पानीको प्राकृतिक बहाव अवरुद्ध भएको छ। राजमार्गमा पर्याप्त क्रस–ड्रेनेज (इन्टरक्रसिङ) संरचना नबनाइएकाले वर्षाको पानी अपेक्षित गतिमा बग्न नसकेको उनको भनाइ छ।

हाल विराटनगरको पानी निकास प्रणालीमा सिङ्घिया खोला, केशलिया खोला, घोघा पैनी, वास्ता पैनी, च्याङबारी पैनी, धुधुवा पैनी र खद्रा पैनीजस्ता प्राकृतिक निकास मार्गहरूले मुख्य भूमिका खेल्दै आएका छन्। तर ती निकास संरचनाको क्षमता, नियमित मर्मत–सम्भार र समग्र व्यवस्थापन प्रभावकारी बनाउन नसकेसम्म विराटनगरको डुबान समस्या हरेक वर्ष दोहोरिने जोखिम कायम रहने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्