विराटनगर । विराटनगर ११ बसपार्कमा रहेको होटल रत्ना प्रालिले सञ्चालन गरिरहेको एक मात्र क्यासिनो बन्द गरिएको छ ।
क्यासिनोमा भारतीय मात्र आउने भएकाले कोरोनाको संक्रमण उच्च हुने भन्दै ‘सिएमजी क्लब क्यासिनो’ बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर ऋषिराज ढकालको नेतृत्वमा शुक्रबार मध्याह्न पुगेको प्रहरी टोलीले जुवा खेलिरहेका ग्राहकलाई निकालेर क्यासिनो बन्द गराएको थियो ।
होटल रत्नासँग घर बहालमा लिएर काठमाडौंका नरेन्द्र शाहले २०६५ पुषदेखि क्यासिनो सञ्चालन गर्दै आएका छन्। होटल रत्ना २०७१ असोजमा नयाँ भवनमा सरेपछि पनि क्यासिनो निरन्तर सञ्चालनमा आइरहेको छ ।
चौबीसै घण्टा चल्ने उक्त क्यासिनोमा प्रतिदिन २ सय भन्दा बढीले जुवा खेल्दै आएका थिए। यस क्यासिनोमा एक पटकमा ६० जना खेल्न सक्छन् । क्यासिनोमा अधिकास भारतीय नागरिक नै बढी आउने भएका कारण कोरोनाको त्राससँगै बन्द गरिएको हो । यता क्यासिनो बन्द गर्न आफैँले प्रहरीसमक्ष अनुरोध गरेको रत्नाका सञ्चालक रेवतबहादुर थापाले दावी गरे ।
शुक्रवार साँझदेखि मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रका सबै गीतगजल रेस्टुरेन्ट बन्द गराउने भएको छ । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार गीतगजल रेस्टुरेन्टमा धेरैजसो भारतीय ग्राहक आएको पाइएको हुँदा बन्द गराउनु परेको हो । विराट होटल व्यवसायी संघका अध्यक्ष एवम् होटल मुनका सञ्चालक विजय प्रसाईंले विराटनगरका गीतगजल बन्द गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे ।
विराटनगरमा १७ वटा गीतगजल रेस्टुरेन्ट भएको जानकारी दिँदै बन्द भएपछि २ सय ५० भन्दा बढी कामदार बेरोजगार हुने दावी गरे ।