विराटनगर बैशाख ९।
विश्वमा सुचना प्रविधिको प्रयोगले विभिन्न अनौठा काम गरेको सुनेका छौ हामीले । विश्वमा सुचना प्रविधिको कारणले मानिसको दैनिक जीवन सहज बनेको पक्कै छ।
विश्वभर फैलिएको कोरोना भाइसरसंग लड्न विभिन्न उपायको खोजी भइरहेको बेला विराटनगरमा युवाहरुले रोबर्ट बनाएर कोरोना विरुद्धको लडाइँमा लागेका छन् ।
विराटनगरमा रहेको कोभिड-१९ विशेष अस्पतालमा राखिएका कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न रोबर्टको निर्माण गरिएको हो । उक्त रोबर्टले संक्रमितलाई खाना पुर्याउन लगायतका काममा सहयोग गर्नेछ । यस्तै उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।
विराटनगर महानगरपालिकाको सहयोगमा "कारखाना" ले उक्त रोबर्ट निर्माण गरेको कारखानाका विराटनगर प्रमुख ऋषभ आचार्यले बताए । कारखाना शैक्षिक संस्थाको रुपमा रहेको छ ।उक्त रोबर्ट बनाउन पाँच जना युवाको योगदान रहेको छ भने उनिहरुले ५० हजार रुपैयाँको लागतमा रोबर्ट तयार पारेको आचार्यले बताए । यसअघि यहीँ संस्थाले विराटनगरमा पहिलो कोरोनाको स्वाब संकलन गर्ने बुथ पनि तयार पारेको थियो ।
रोबर्टको उचाइ ८० सेमि र वजन २५ केजी रहेको छ भने उक्त रोबर्ट रिमोटबाट चल्ने छ । रोबर्टले ६० केजी सम्म भार उठाउन सक्ने आचार्यले आवर विराटनगरलाई जानकारी दिए ।रोबर्टको डिजाइनलाई नयाँ रुपमा परिमार्जन गरिएको छ । उक्त रोबर्टको परिक्षण गरिने अनि प्रदेश सरकारले निर्माण गरेको कोरोना अस्पताल विराटनगरलाई हस्तान्तरण गरिने आचार्यले बताए ।