–मीनकुमार नवोदित
झरीले बगाओस् बरु जम्मै म हिंड्ने बाटो
तर, नबगाओस् नानीहरूका मीठा सपना
आँधीले उडाओस् मेरो घरको धुरी
कदापि नउडाओस् मेरी आमाको खुसी ।
बरु फेरिरहोस् दिनहुँ–
आकाशको रंग
माटोको सुगन्ध
फूलको बास्ना
दौडिरहेको भुइँकुहिरोको अनुहार
तर,
मेरो घरमाथिका ताराहरूले
बार्दलीबाट हामफालेर
नगरुन् आत्महत्या ।
महिनैपिच्छे परिवर्तन भइरहोस्
यो देशको सरकार
सरकारी कार्यालयका प्रमुख र कर्मचारी
पार्टीका नेता र कार्यकर्ता
तह, जिल्ला र प्रदेशको नाम
तर,
कहिल्यै नहोस् परिवर्तन
मेरो बा’ले भित्तामा टाँगेको देशको नक्सा ।