सडकमा टिपर भासिनु, निर्माणमा त्रुटी

सडकमा टिपर भासिनु, निर्माणमा त्रुटी

प्रेम देवान

विराटनगर । विराटनगर १० पिपलचौक, शाही मार्गमा कालोपत्रे सडक भित्र टिपरको चक्का भासिनुको कारण निर्माण कम्पनिको लापरवाही भएको खुलेको छ ।
सोमबार साँझ सडकमा रोकेर राखिएको टिपरको पछाडीतर्फको चक्का सडकमा भासिएको थियो । एकबर्ष अगाडी मात्र पीच गरिएको सडकमा टिपरको पछाडीको चक्का भासिनुको मुख्य कारण ठेकेदारको निर्माण लापरवाही खुलेको हो ।

क्षेत्रीय सहरी विकास परियोजनासँगको सम्झौतामा निर्माण कम्पनि आशिष निर्माण सेवाले सडक निर्माणको जिम्मेवारी लिइएको थियो । उसले निर्माण गरेको सडकमा रोकेर राखेको टिपर भासिएको समाचार सोमबार आवर विराटनगरले प्रशारण गरेको थियो ।
समाचार प्रशारण गरेपछि धेरैको ध्यान सडक निर्माणको विषयमा गएको थियो । टिपरको चक्का चारफिट गाडीपछि स्थानीय समेत आश्यर्चमा परेका थिए । विराटनगर महानगरपालिकामा क्षेत्रीय सहरी विकास परियोजनाले अधिकांश सडक निर्माणको काम गराउँदै आएको छ । शाहीमार्ग समेत परियोजना अन्तर्गत नै ठेक्का सम्झौता भएको थियो ।

दश मिटर चौडाई रहेको सडकमा बालुवा बोकेको को १ क ३१७२ नम्बरको टिपर भासिएपछि सोमबार राती महानगरपालिकाको डोजर प्रयोग गरि निकालिएको थियो । स्थानीय सन्तोष दासका अनुसार निर्माणमा गरिएको लापवाहीको अनुगमन नगर्ने महानगरले भासिएको टिपर निकाल्न भने तुरुन्तै डोजर पठाएको हो ।
विराटनगर–१० नम्बर डामा साना र ठूला गरि १०३ वटा सडक क्षेत्रिय सहरी विकास परियोजना अन्तर्गत निर्माण भईरहेका छन् । तीमध्ये अधिकांश सडक आशिष निर्माण सेवाले ठेक्का पाएको वडा अध्यक्ष माधव वाग्लेले जानकारी दिएका छन् । यो वडामा परियोजना अन्तर्गतका ९५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भईसकेको छ । निर्माण कम्पनिसँग सम्झौता अवधी बाँकी रहेकोले बिग्रिए वा भत्कीए उसैको जिम्मेवारी हुने अध्यक्ष वाग्लेले जानकारी दिए ।

आशिष निर्माण सेवाका इन्जिनियर रविन्द्रकुमार ठाकुरले पुराना खानेपानीको पाइप जमिन मुनी भएका कारण सडक भासिएको दावी गरेका छन् । उनले भित्र पानीको पाइप भएका कारण त्रुटी देखिएको दावी गरेका हुन् । निर्माण सम्पन्न भएको सडकमा देखिएको प्राविधिक त्रुटी सच्याउँने ठाकुरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्