विराटनग । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगर र विराटनगर नर्सिङ क्याम्पसबीच सेवाग्राही कर्जा सम्झौता भएको छ ।
विराटनगर नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका लागी सस्तो र सुलभ ढङ्गले ऋण उपलब्ध गराउन सोमबार दुवै पक्षबिच सम्झौता भएको हो ।
सम्झौता अनुसार अब नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीहरुले क्याम्पसको सिफारिसमा सेवाग्राही कर्जा अन्तर्गत बार्षिक ७.४९ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन पाउनेछन् ।
जसअन्तर्गत कर्मचारीहरुले अधिविकर्षको कर्जाको रुपमा बढीमा ५ लाख र आवद्यिक कर्जाको रुपमा बढीमा १० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने नेपाल बैंक लिमिटेड प्रदेश नं. १ का प्रमुख उज्वलराज गौतमले बताउनुभयो ।
यसरी बैंकले कर्मचारीहरुलाई प्रदान गर्ने कर्जाको ब्याज तथा साँवा र ब्याज सहितको किस्ता, कर्जा लिने कर्मचारीहरुको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा भएको तलब र भत्ता रकमबाट कट्टा गरिनेछ । ऋणीको खाताबाट प्रत्येक महिना अथवा त्रैमासको २५ गतेभित्र कट्टा गरिने कर्जाको किस्ता बापतको रकम स्वतः प्रथम पक्षको कर्जा खातामा जम्मा गरिने नेपाल बैंक लिमिटेड विराटनगर सिटी अफिसका शाखा प्रबन्धक श्रीप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।
त्यस्तै ऋणीले कुनै कारणवश कर्जा भुक्तानी गर्न असमर्थ भए कर्जा भुक्तानी गराउन पहल गर्ने सम्पुर्ण दायित्व द्धितीय पक्षको हुने नेपाल बैंक लिमिटेड विराटनगर सिटी अफिसका सहायक शाखा प्रबन्धक सचिनचन्द्र कर्णले उल्लेख गर्नुभयो । उहाँले कर्जा भुक्तानी गराउन पहल गर्ने सम्पुर्ण जिम्मेवारी द्धितीय पक्षको भएपनि द्धितीय पक्ष स्वयंमले व्यक्तिगत रुपमा कर्जा भुक्तानी गर्नु नपर्नेे स्पष्ट पार्नुभयो ।
सम्झौता पत्रमा भने बैंंकका तर्फबाट विराटनगर सिटी अफिसका शाखा प्रबन्धक श्री प्रसाद शिवाकोटी र क्याम्पसका तर्फबाट विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।