अविनाश चौधरी
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रहेका तालतलैया र नदीमा पाहुना चरा आउनेक्रम सुरु भएको छ ।
जाडो छल्नका लागि कैयौं माइल दूरी पार गरेर पाहुना चराहरु यहाँ आउन थालेका हुन् । यो प्रदेशको प्रसिद्ध घोडाघोडी तालसहित विभिन्न ताल र यहाँ रहेका ठूला नदीहरुमा केही पाहुना चरा बसाइँ सरेर आइपुगेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो ।
उहाँका अनुसार खरखरे हाँस, सिन्दुरे हाँस, ठूलो जलेवा, मालक हाँस र कल हाँस जस्ता जलपक्षी बसाइँ सरेर विभिन्न मुलुकबाट यहाँ आइपुगेका छन् । ‘जाडो छल्न बसाइँ सरी आउने चरा अक्टोबर अन्तिमबाट यहाँको तालतलैयामा आउन सुरु भएको हो’, उहाँले भन्नुभयो । ‘चराहरु आउनेक्रम मङ्सिर १५ सम्म चलिरहन्छ । यहाँ आउने पाहुना चराको सङ्ख्या अझै बढ्छ ।’
चिसो बढ्नुभन्दा अगाडि नै पाहुना चराहरु बसाइँ सरेर आइपुग्ने गरेको बताइएको छ । यो प्रदेशको विभिन्न सिमसार र नदीनालामा मङ्गोलिया, साइबेरिया, रुसको केही स्थान, किर्गिस्तान र ताजिकिस्तानबाट चराहरु जाडो छल्नका लागि अस्थायी रुपमा यहाँ आउने गरेका छन् । बसाइँ सरेर आउनेमा जलपक्षी बढी र केही सिकारी चराहरु रहने गरेको नेपाल पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) का प्रतिनिधिसमेत रहनु भएका डङ्गौराले बताउनुभयो ।
विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ६४ प्रजातिका जलपङ्क्षी पाइने गरेको अभिलेख छ । जसमध्ये २९ देखि ३२ प्रजातिका जलपक्षी नियमित रुपमा देखिन्छन् । करिब २९ प्रजाति भने पाहुनाको रुपमा आउने गरेको जनाइएको छ ।
यहाँका तालतलैयामा कैलेटाउके हाँस, श्वेताँखीभौ, खरखरे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँरे टिमटिमा लगायतका चरा आउने गरेका छन् । बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजाति हो ।
‘यो बेला मङ्गोलिया, रसियाको साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्नुहुन्छ–‘त्यहाँ अत्याधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै हाम्रो देशको घोडाघोडी लगायतका तालतलैयामा पुग्ने गर्दछन् ।’
यहाँ आएका आगन्तुक जलपङ्क्षी फागुन मसान्त (मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेको बताइएको छ । गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि पहिलेकै ठाउँतिर लाग्ने गरेका छन् ।
कैलालीको राखौना, चम्रहिया, घोडताल, सोनियाँ रुपिया, महदेवा, कोइलही, कमल पोखरी, नैनी ताल र कर्णाली, मोहना नदी तथा डल्फिन क्षेत्रमा हिउँदे आगन्तुक चरा देखिने गर्दछन् । यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थित कालीकिच, रानी, सिकारी ताल र संरक्षित क्षेत्र बाहिर रहेको बन्दा ताल, पुरैनी ताल, महाकाली नदी, चौधर नदीमा पाहुना चरा देखा पर्ने गरेको डङ्गौराको भनाइ छ ।
पाहुना चराहरु आएसँगै जलासयहरुमा चराको चहलपहल बढेको छ । चराहरु पानीमा खेलेको, उडेको दृश्यले मनै लोभ्याउने गरेको छ । नेपालमा २०० प्रजातिका जलपक्षी पाइन्छन् । जसमध्ये, ५२-५३ प्रजाति बसाइँ सरेर आउने गरेको जनाइएको छ ।
तालतलैयाको संरक्षण नहुनु, तालमा मिचाहा प्रजाति बढ्नु, चोरी सिकार लगायतका कारणले जलपक्षी सरक्षणमा चुनौती पनि थपिँदै गएको छ । सिमसार क्षेत्रमा मिचाहा प्रजाति बढेर चराको बासस्थान नै बिग्रिने गरेको छ । बासस्थान बिग्रेपछि चराहरु कम देखिने गरेको चराविज्ञ डङ्गौराको बुझाइ छ ।
कैलालीको घोडाघोडीमा देखिएका आगन्तुक जलपक्षी । तस्बिर सौजन्य - हिरुलाल डङ्गौरा