झापा । सिँचाईको समस्याका कारण हिउँदमा बाँझै रहने गरेका झापाको बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब उत्पादन हुने भएको छ ।
कृषकको सिँचाई सम्बन्धी समस्या हल भएपछि बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब अन्न तथा तरकारी बाली उत्पादन हुने भएको हो । वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरेको बजेट मार्फत कृषकलाई सिँचाईका लागि आवश्यक पर्ने मोटर र बोरिङ अनुदानमा उपलब्ध गराउन थालेपछि बाह्रदशी–४ का जग्गा अब बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
हाल बाह्रदशी ४ का कृषकका वडा कार्यालयले विभिन्न ठाउँमा ४ इन्चको १२० वटा बोरिङ गाडिदिएको छ । वडा कार्यालयले २५० थान मोटर समेत वितरण गरिएको वडाध्यक्ष समिम मियाँले बताए । उनले कृषकहरुलाई १५० वटा स्प्रे ट्याङ्की र २० थान थ्रेसर मेसिन समेत वितरण गराईएको जानकारी दिए । उनले भने, ‘केही सामाग्री सरकारी अनुदानमा उपलब्ध गराईएका छन् भने केही सामाग्रीमा कृषक स्वयंंमले लगानी गरेका छन् ।’
कृषकहरुलाई ३० लाख रुपैयाँ बराबरको सिँचाई सामग्री सरकारी अनुदानमा उपलब्ध गराईएको छ भने २० लाख रुपैयाँभन्दा बढी सामग्रीको खरिदमा कृषकको स्वयंमको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । मंगलबार मात्रै वडा कार्यालयले कृषकहरुलाई २/३ हर्ज पावरको ३८ थान मोटर र १२ थान बोरिङ वितरण गरेको छ । सबै कृषकलाई सहज रुपमा सिँचाइको पहुँच पुर्याउन वडा कार्यालय मार्फत् बोरिङ सत प्रतिशत अनुदानमा र मोटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष मियाँले बताए ।
बाह्रदशी गाउँपालिका तरकारी खेतीका लागि जिल्लामै परिचित छ । त्यसमा पनि बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् । तर, सिँचाईको समस्याका कारण केही वर्ष अघिसम्म यहाँका कृषक समस्यामा थिए । तर, वडा कार्यालयले अहिले प्रायः सबै कृषकलाई सहज मोटर र बोरिङको व्यवस्था गरिदिएपछि यहाँका कृषक हर्षित देखिएका छन् ।